भोजपुरमा फौजी किराको प्रकोप, मकैबाली नष्ट

डिसी नेपाल
१७ जेठ २०७७ ८:५३

भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो।

गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताए।

राईले भने, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ।”

सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनुसार वडा नं ७ कोटमा करिब १०० बढी किसानले लगाएको बालीमा किराको प्रकोप रहेको छ।

दैनिकजसो यसको प्रकोप बढिरहेको नेपालले जानकारी दिए । वडाध्यक्ष नेपालले भने, “हाम्रो गाउँपालिकाको वडा नं ६, ७, ९ मा फौजी किराको प्रकोप बढेको छ, यसको रोकथामका लागि के गर्न सकिन्छ भनेर मैले गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु मेरो वडामा मात्र १०० बढी किसानको मकैबालीमा किराको प्रकोप देखिएको छ।”

फौजी किराले बाली नष्ट गरेपछि अरूण गाउँपालिकाको वडा नं १ याङपाङले किसानलाई फौजी किरा मार्न औषधि वितरण शुरु गरेको जनाएको छ ।

फौजी किराका कारण सबै मकैबाली नष्ट हुने स्थिति देखिएकाले औषधि खरिद गरी ६१० घरधुरीलाई वितरण गरिएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *