अमेरिकामा रंगभेदविरोधी आन्दोलनः जब महाशक्ति देशका राष्ट्रपति नै बंकरभित्र लुक्नुपर्‍यो

डिसी नेपाल
१९ जेठ २०७७ १२:२०

काठमाडौं। अमेरिका अहिले जलिरहेको छ । विश्व महाशक्ति मानिएको अमेरिकामा अहिले रंगभेदविरोधी आन्दोलन उत्कर्षमा छ । यहाँको मिन्नोसेटा राज्यको मिनियापोलिस शहरमा गत मे २५ मा पुलिस कष्टडीमा एक नागरिकको ज्यान गयो । २० डलरको नोट जालसाजी गरेको आरोप लागेपछि उनलाई हिरासतमा लिन आएका पुलिस अधिकारीको हातबाट उनको ज्यान गएको विश्वास गरिएको छ ।

ज्यान गुमाउने नागरिक अश्वेत अर्थात काला जातिका थिए । अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मृत्यु भएसँगै उनलाई पुलिसले नियन्त्रणमा लिँदै गर्दाको भिडियो फुटेज सार्वजनिक भयो । भिडियोमा जर्जलाई नियन्त्रणमा लिने क्रममा भुइँमा लडेका जर्जको घाँटी एक पुलिस अधिकारीले घुँडाले थिचेर राखेको देखिएका छन् । जर्जले आफूलाई सास फेर्न गाह्रो भएको भनेका छन् तर ती पुलिस अधिकारीले लगातार ८ मिनेटसम्म उनको घाँटी थिचेको भिडियोमा देखिन्छ ।

भिडियो सार्वजनिक भए लगत्तै जर्जका लागि न्याय माग्दै तथा नश्लवाद र रंगभेदविरुद्ध सुरु भएको प्रदर्शन चर्किंदै गएको छ । आइतबार यसको छैटौं दिन प्रदर्शनको ज्वाला अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउससम्म पुग्यो । पछिल्लो खबरअनुसार आइतबार राती ह्वाइट हाउसमै आक्रमण हुन थालेपछि राष्ट्रपति भवन परिसरका सबै बाहिरी बत्तीहरु निभाइएका थिए । यसअघि शुक्रबार राती पनि प्रदर्शन यस्तै उग्र थियो । शुक्रबार त राष्ट्रपति डोनाल्ड ट्रम्प अण्डरग्राउण्ड बंकरमा लुकेका थिए । विश्वको शक्तिकेन्द्र ह्वाइट हाउस नै असुरक्षित हुनु र ह्वाइट हाउसका प्रमुख कार्यकारी नै लुक्ने अवस्था सृजना हुनुलाई निकै गम्भीर मान्नुपर्ने हुन्छ ।

समाचार एजेन्सी एपीका अनुसार शुक्रबार राती वाशिङटनमा ह्वाइट हाउसबाहिर सयौंको संख्यामा प्रदर्शनकारी भेला भएका थिए । उनीहरुले प्रदर्शनका साथसाथै सडकमा रहेका कारहरु लडाउने र तिनीहरुमा आगजनी गरे । साथमा उनीहरुले ह्वाइट हाउससहित त्यस क्षेत्रमा महत्वका भवनहरुमाथि ढुंगा प्रहार गरे । प्रदर्शनकारीहरुको उग्र व्यवहार देखेपछि राष्ट्रपति ट्रम्प बंकरमा जानुपर्यो । यद्यपि सुरक्षा अधिकारीहरुले पछि उनको सुरक्षामा कुनै खतरा नभएको सफाइ दिएका थिए ।

बेलायती मिडिया द गार्डियनले भने ट्रम्पले भागेरै बंकरमा शरण लिएको लेखेको छ । सामाजिक संजालमा पनि कैयौं अभियन्ताहरुले ट्रम्प भागेको र लुकेको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार शुक्रबार राती सिक्रेट सर्भिसका एजेन्टहरुको सल्लाहपछि ट्रम्प बंकरमा गएका थिए । उनले करिब १ घण्टा बंकरमा बिताए । प्रदर्शनकारीहरु पछिल्लो एक साताको अवधिमा लगातार बढ्दै गएका छन् । शनिबार अमेरिकाका करिब २५ ठूला शहरमा कर्फ्यू लगाइएको थियो तर प्रदर्शनकारीहरुले कर्फ्यूको समेत अवज्ञा गरेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार ठूलो संख्यामा प्रदर्शनकारीहरुले ह्वाइट हाउसमै आक्रमण गर्न थालेपछि राष्ट्रपति भवनभित्र तनावको माहोल थियो । ट्रम्पका केही सल्लाहकारहरुले यो प्रदर्शनका विषयमा ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने सल्लाह दिएका थिए तर ट्रम्पले यसो गरेनन् । राष्ट्रपति ट्रम्प बंकरमा लुकेको विषयलाई अब विपक्षीले हतियारको रुपमा प्रयोग गर्न थालेका छन् । ट्रम्पले यो प्रदर्शनको विषयमा केही दिनअघि निकै विवादित ट्वीट गरेका थिए जसका कारण पनि ट्रम्प निशानामा परेको आशंका गरिएको छ ।

केही दिनअघि ट्रम्पले ‘जब लुटपात सुरु हुन्छ तब गोली हान्न सुरु हुन्छ’ भनेर ट्वीट गरेका थिए । यो विषयलाई लिएर अमेरिकाका कैयौं सेलिब्रेटीले राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन् । चर्चित गायिका टेलर स्विफ्टले ट्वीट गर्दै आगामी नोभेम्बरमा ट्रम्पलाई ‘भोट आउट गरिदिन्छौं’ लेखेकी थिइन् । अमेरिकामा आगामी नोभेम्बरमा चुनाव हुँदैछ र ट्रम्प दोस्रो कार्यकालको लागि यो निर्वाचनमा लड्दैछन् ।

राष्ट्रपति निर्वाचनको अगाडि भइरहेको यो प्रदर्शनलाई निर्वाचनसँग जोडेर पनि प्रयोग गर्न थालिएको छ । घटनाक्रम र परिस्थितिले पनि यो हिंसात्मक प्रदर्शनले निर्वाचन प्रभावित पार्ने देखिएको छ । राष्ट्रपति ट्रम्प आप्रवासी विरोधीका रुपमा चिनिन्छन् । ज्यान गुमाउने जर्ज फ्लोएड अफ्रिकी मूलका हुन् जसलाई अमेरिकामा आप्रवासीको रुपमा हेरिन्छ ।

यसबाहेक आगामी निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धामा जो बिडेन उम्मेदवार छन् जो पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए । ओबामाले बिडेनलाई सहयोग गर्ने बताइसकेका छन् । ओबामा स्वयं अश्वेत अर्थात अफ्रिकी मूलका हुन् त्यसैले अहिलेको हिंसाले ओबामालाई प्रत्यक्ष रुपले जोड्छ । ओबामाले पनि फ्लोएडको घटनालाई सामान्य रुपमा लिन नहुने प्रतिक्रिया दिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *