काँग्रेसद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली काँग्रेसले नेपाल शिक्षक सङ्घका पुराना एवं अग्रज नेता यदुप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । एक वर्षदेखि क्यान्सर रोगबाट पीडित अधिकारीको आज भरतपुर महानगरपालिका–८ स्थित आफ्नै निवासमा निधन भएको हो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक शोक विज्ञप्तिमार्फत उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विसं २०१० फागुन १५ गते गोरखाको अजिरकोट गाउँपालिका–३ लप्सिकोटमा उनको जन्म भएको थियो ।
विसं २०५२ मा तत्कालीन माओवादीको साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचार गरिएको थियो । त्यसपछि उनि गाउँबाट विस्थापित भएका थिए। तत्कालीन समयमा उनि स्थानीय ज्ञानज्योति माविको प्राचार्य थिए र निवृत्त जीवनपश्चात् काँग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएका काँग्रेसले जनाएको छ ।
स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका एक श्रीमती र तीन छोरा छन् ।







डिसी नेपाल







Facebook Comment