रुसको समुद्री किनारमा युक्रेनी ड्रोन खस्दा तीन बालबालिकासहित ७ जनाको मृत्यु, ४० घाइते

डिसी नेपाल
१९ साउन २०८३ ७:३३

मस्को। दक्षिणी रुसको एक व्यस्त पर्यटकीय समुद्री किनारमा युक्रेनी ड्रोन खस्दा तीन जना बालबालिकासहित कम्तीमा सात जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्।

रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको हाल अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनले जानीजानी सर्वसाधारणलाई लक्षित गरेर आक्रमण चलाएको आरोप लगाएका छन्। यद्यपि, यस घटनाबारे युक्रेनी पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा पर्यटकहरू किनार र पानीमा रमाइरहेका बेला तीव्र गतिमा आएको एक ड्रोन नजिकैको भिरमा ठोक्किएर भीषण आगोको गोलामा परिणत भएको देखिन्छ। काला सागरनजिकैको आर्खिपो-ओसिपोभ्का क्षेत्र रुसी पर्यटकहरूमाझ निकै लोकप्रिय मानिन्छ। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमण हुनुअघि सो क्षेत्रमा कुनै खतराको साइरन बजेको थिएन।

उक्त ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट भइसकेको छैन। केही युक्रेनी सञ्चारमाध्यमले रुसी ‘इलेक्ट्रोनिक वारफेयर’ प्रणालीका कारण ड्रोन नियन्त्रण गुमाएर त्यहाँ खसेको दाबी गरेका छन्। त्यस्तै, स्थानीय रुसी मिडियालाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार विस्फोटअघि गोली चलेको आवाज सुनिएकाले एयर डिफेन्स प्रणालीले ड्रोनलाई हावामै खसाल्न खोज्दा यो दुर्घटना भएको अनुमान गरिएको छ।

पछिल्लो समय युक्रेनले रुसी भूभागभित्रै छिरेर उर्जा पूर्वाधार र सैन्य गोदामहरूमा दूरगामी आक्रमण तीव्र पारेको छ। अर्कोतर्फ, रुसले पनि सन् २०२२ फेब्रुअरीमा सुरु गरेको आक्रमणयता युक्रेनका आवासीय क्षेत्रहरूमा निरन्तर क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। गत शनिबार मात्रै रुसले युक्रेनको राजधानी किभमा गरेको क्षेप्यास्त्र प्रहारमा परी कम्तीमा नौ जनाको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *