दक्षिणकाली र नेपालगञ्जबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौँ। देशका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट २ हजार ६९० ट्याब्लेट ट्रामाडोल र २३६ ट्याब्लेट नाइट्राजेपामसहित एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-१ घर भई हाल काठमाडौँको चन्द्रागिरि बस्दै आएका ३१ वर्षीय सुमन भण्डारी रहेका छन्।
यस्तै, लागूपदार्थ नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका-४ बाट १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ का ३० वर्षीय सुशील भण्डारी र वडा नम्बर १० का ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन्।
अनुसन्धानका क्रममा प्रहरीले जयसवालको घर तलासी गर्दा थप ४२५ ग्राम खैरो हेरोइन, १ लाख ८० हजार नेपाली रुपैयाँ, २ लाख १४ हजार भारतीय रुपैयाँ र एक थान डिजिटल तराजु समेत बरामद गरेको छ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment