पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक रुपमा थुनियोः तटीय क्षेत्रमा सर्तकता

डिसी नेपाल
११ असार २०७७ २१:२९

मनाङ । मनाङमा पहिरो खस्दा मस्र्याङ्दी नदी आंशिक रूपमा थुनिन पुगेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा गएको पहिरोले मस्र्याङ्दी नदी आंशिक रूपमा थुनिन पुगेको हो । हुम्डे नजिकैको पहाड खस्दा सडकसहित पहिरो लगेर मस्र्याङ्दी नदीको केही भाग थुनिएको स्थानीयवासी राजु गुरुङले बताए ।

उनका अनुसार आज बिहानदेखिको अविरल वर्षाका कारण करिब ८०० मिटर सडक भासिएको छ । अझै पानी निरन्तर परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको उनले बताए । पहिरो निरन्तर खसिरहे जिल्लाका नदी आसपास रहेका बस्तीहरु जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।

‘ “पहिरो निरन्तर खसिरहेको छ, पहिरोका कारण आंशिक रुपमा नदी थुनिएको छ” प्रजिअ पौडेलले भने, “नदीको बहाव एकैसाथ खुल्यो भने छेउछाउका बस्ती जोखिममा रहेकाले सचेत रहन आग्रह गरिसकेका छौँ ।” पहिरोले बहाव बन्द हुँदै गएपछि उक्त क्षेत्रमा ताल बन्न लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रजिअ पौडेलले पहिरोका कारण नदीको केही भाग थुनिएर कम मात्रामा पानीको निकास भइरहेको बताउँदै पहिरो खस्न जारी रहेकाले उक्त क्षेत्रमा सतर्कता अपनाउन सबैमा सचेत गराइएको जानकारी दिए । कुनै घटना न घटोस् भनी उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

नदीको बहाव रोकिएर पछि खुलेमा चामे गाउँपालिका, नासों गाउँपालिकाको थोचे, ताल गाउँलगायतका ठाउँ प्रभावित हुन सक्ने अनुमान गरिएको छ । खोलाकै किनारमा रहेको ताल गाउँ नदीको बहावले प्रभावित हुने र बगाउने सम्भावना बढी रहेकाले त्यहाँ उच्च सर्तकता अपनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *