रहेनन् भिक्षु डा ज्ञानपूर्णिक

डिसी नेपाल
१९ असार २०७७ १३:०४

काठमाडाैं। सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ। उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थिए। उनले बुद्ध शिक्षा र विपश्यना विकासमा अतुलनीय योगदान पुर्याएका थिए।

उनलाई उपचारका लागि दुई महिनाअघि सो अस्पताल भर्ना गरिएको भिक्षु निग्रोधले जानकारी दिए। छ महिनादेखि डायलासिस गराउँदै आउनुएका अग्गमहापण्डितलाई एक महिनाअघि सघन उपचार कक्षमा राखिएको थियो। उनको उपचारमा चिकित्सकद्वय ऋषिकुमार काफ्ले र विक्रम शाक्य सम्लग्न थिए।

यसबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।

भिक्षु अग्गमहापण्डितले बुद्ध धर्मबारे ६० वटा पुस्तक लेखेका छन्। धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका थिए।

उनी थेरवाद बुद्ध धर्मको सातौँ संघनायकसमेत थिए। यसबीचमा उनको स्वास्थ्य लाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको थियो। उनको अन्त्येष्टिबारे आज दिउँसो निर्णय गरिने भिक्षु निग्रोधले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *