गाउँपालिकाका अध्यक्षद्वारा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध उजुरी

डिसी नेपाल
२१ असार २०७७ १९:४६

मुगु । मुगु स्थित सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम अनियमिता भएको भन्दै गाउँपालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल बिरुद्ध प्रशासनमा उजुरी दिएका छन।

कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै प्रमुख शाहीले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन ।

कोरोना महामारी नियन्त्रणको लागि गाउँपालिकामा गठन भएको स्थानीयतह प्रकोप व्यस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायाँनाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख लगायत र अन्य निकायबाटको सहयोग सहित १ करोड भन्दा बढी रकम जम्मा भएको थियो। बिभिन्न शिर्षकमा रकम खर्च भएपनि कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकिय अधिकृत र लेखापालले हिनामिना गरेको प्रमुख शाहीको आरोप लगाएका छन्।

‘मलाई कुनै जानकारी नै नदिई लेखापाल र प्रमुख प्रशासकिय अधिकृत विचको मिलेमतोमा कोषमा रहेको १९ लाख रकम गायब गरिएको’, अध्यक्ष शाहीले भने, ‘दुबै जना संग सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनु पर्ने अबस्था आएको हो।’

कामै नभएको योजनाको उपाध्यक्षले भुक्तानी लिन खोजिन्

प्रमुख प्रशासकिय अधिकृत र लेखापालले सोरु गाँउपालिका वडा नं ८ तारापानी–नुवाकोट–रुम सडक खण्डको कुनै काम नै नगरि उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरि प्रशासनमा पेश गरेको प्रमुख शाहीले जानकारी दिए।

उक्त सडक निर्माणका लागी गाँउपालिकाले आव २०७६÷०७७ मा १५ लाख बजेट बिनियोजन गरेको थियो । उपप्रमुख बमले ४ लाख अग्रिम पेश्की लिएको सोही रकम अनुसारको काम नै नगरि बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक जफत गरेको प्रमुखले सुनाए।

मदिराका लागि पालिकाको अर्डर स्लिपको प्रयोग

सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धान्य बुढाले मदिरा, मासु खान समेत पालिकाको अर्डर सिलिप प्रयोग गर्ने गरेको पाईएको छ ।
प्राप्त अर्डर स्लिपमा पालिकाको छाप र प्रमुख प्रशासकिय अधिकृत बुढाको दस्तखत रहेको छ । अधिकृत बुढाले आफुले रक्सी खान अर्डर स्लिप प्रयोग गरेको प्रष्ट देखिन्छ । अर्डर स्लिपमा बुढाले २५ वटा मदिरा क्वाटर, १ दर्जन चम्चा, ३ वटा कचौरा र १ वटा मासुको लहरा(सुकुटी) अर्डर गरेका छन ।

भ्रमण भत्ता पनि मनोमानी लिएको आरोप

प्रमुख प्रशासकिय अधिकृत बुढाले अध्यक्ष शाहीको आदेश स्विकृत विनै भ्रमण आदेश एक पटक ६० हजार र अर्को पटक ७० हजार रकम लिइएको पाइएको छ । बुढाले लिएको भ्रमण भत्ता वाफतको उक्त रकम पनि नियम बिपरित रहेको अध्यक्ष शाही बताउनु भयो ।

प्रशासनमा सोरुका दर्जनौ उजुरी, सुनुवाई शून्य

सोरु गाउँपालिकामा भएका अनियमिता सम्वन्धि आधा दर्जन उजुरी प्रशासन कार्यालयमा दर्ता भएपनि अहिले सम्म कुनै कारबाही प्रकृया अघि नबढदा गल्ती गर्ने व्यक्ति, समुहको मनोबल बढेको बुझिएको छ।

कोरोना राहतको १९ लाख रकम कुनै अनियमित नभएको बजेट नपुग्दा वडा कार्यालयबाट माग गरिएको बील अनुसार भुक्तानी दिनै बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत बुढा बताए।
गिलाह–तारापानी सडकको अघिल्लो बर्षकै भुक्तानी दिन बाँकी रहेको हुदा चेक तयार गरिएको र उक्त चेक प्रमुखले थुतेर लिएको उनको आरोप छ ।

प्रमुख प्रशासकिय अधिकृत र लेखापाल बिरुद्ध पालिका प्रमुखले दिएको उजुरी माथि छानविन प्रकृया अघि बढाउने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए।

पालिकामा अध्यक्ष नेपाली काँगे्रसबाट निर्वाचित हुन् भने उपाध्यक्ष तत्कालिन नेकपा एमालेबाट, हाल गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृत नेकपा सर्मथक भएकाले उपाध्यक्ष र अधिकृतको मिलेमतोमा अध्यक्षलाई जानकारी नै नदिई पालिकामा कार्य अगाडी बढाउने गरेकोे पनि पालिका अध्यक्ष शाहीले आरोप लगाए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *