जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता

डिसी नेपाल
२३ असार २०७७ १२:५८

टोकियो । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन्।

सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएका छन्।

जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरुले बताएका छन्। मौसम पूर्वानुमान विभागका अनुसार क्युसुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने देखिएको छ।

जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको देखिएको छ।

फुकुओकामा जापानी सेनाले मानिसलाई निकै जोखिमका साथ घरघरबाट उद्धार गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनले प्रशारण गरिरहेका छन्।

फुकुओकामा एक अधवैंसे महिला आफ्ना परिवारजनको उद्धारका लागि गए पनि बाढीको पानी उनको घाँटीसम्म पुगेको थियो।

विपद व्यवस्थापन विभागले कुमामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको शव निकालिएको जनाएको छ । अर्की एक वृद्धा भने घरभित्रै मृत अवस्थामा भेटिएकी थिइन्।

जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्युसुबाट करिब ३० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थलमा जान सरकारले आदेश दिएको छ।

हाल उद्धार कार्यमा दशौं हजार सेना, प्रहरी र अरु उद्धार कार्यकर्ता अहोरात्र खटिएका छन् । खासगरी कुमा नदीको आसपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ। उद्धारकार्यमा निरन्तरको वर्षासँगैको बाढीले अबरोध गरिरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *