मास्क लगाउन आग्रह गर्दा यात्रुले गरे निर्घात कुटपिट, बसचालक मृत्युको मुखमा

डिसी नेपाल
२३ असार २०७७ १७:०९
4
Shares

बीबीसी । फ्रान्सको दक्षिणपश्चिम भेगमा अनुहार ढाक्ने मास्क लगाउन अटेरी गरेका यात्रुहरूले गरेको कुटपिटका कारण एक बसचालक मृत्युको मुखमा पुगेका छन्। बायोनस्थित ती बसचालकले टिकट पनि साथमा नभएका र मास्क पनि नलगाएका कैयौँ यात्रुलाई बसभित्र आउन अनुमति दिएका थिएनन्।

आइतबार राति भएको उक्त घटनामा ती केही यात्रुले ५० वर्ष उमेर कटेका चालकलाई कुटेका थिए। त्यसपछि उनी ‘मस्तिष्क मृत्यु’ भएको अवस्थामा पुगेका छन्। कुटपिटका कारण ती चालकको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ। सो घटनालाई लिएर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

फ्रान्समा सार्वजनिक सवारीसाधन चढ्न मास्क अनिवार्य गरिएको छ। मजदुर युनियनका सूत्रले स्थानीय रेडिओ स्टेशनलाई बताएअनुसार ती बसचालकले यात्रुहरूलाई कुकुर साथमा बसभित्र ल्याउन दिएका थिएनन्।

बायोनका नगरप्रमुखले उक्त घटनालाई ‘बर्बरतापूर्ण कार्य’ भन्दै निन्दा गरेका छन्। सो घटनापछि बसचालकहरूले काम गर्न नमानेका कारण क्षेत्रीय बस सेवा निकै प्रभावित भएको छ।

विश्वका कैयौँ देशका सरकारहरूले कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न सार्वजनिक स्थल तथा दूरी कायम गर्न नसकिने स्थलहरूमा मास्क लगाउन आह्वान गर्दै आएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै सङ्क्रमण फैलिनबाट रोक्न मानिसहरूलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।

डब्ल्यूएचओका अनुसार मास्क लगाउँदा सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध हुन्छ। विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो। तर मास्क प्रयोगबारे विवाद पनि उत्तिकै छन्।

खासगरी पश्चिमी देशहरूमा कैयौँ मानिसले मास्कको प्रयोगलाई व्यक्तिगत स्वतन्त्रतासँग जोड्ने गरेका छन्। सुरुमा मास्क प्रयोगले सङ्क्रमण रोक्न नसक्ने भन्दै आएको भएपनि अहिले धेरैजसो विज्ञहरूले मास्क लगाउँदा सङ्क्रमणको सम्भावना घटाउन सकिने भन्दै आएका छन्। मास्कको प्रयोग, सामाजिक दूरी अनि हातको सरसफाइनै सङ्क्रमण रोक्न अहिलेका लागि प्रभावकारी उपाय भएको बताइएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *