यस्ताे छ नवनियुक्त महानिरीक्षक थापाको संगठनमा योगदान

डिसी नेपाल
२३ असार २०७७ २२:३८

काठमाण्डौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको हो।
थापाले नेपाल प्रहरीमा विसं २०४९ वैशाख १९ मा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। राजधानीबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, झापा, कास्कीमा बसेर सेवा दिएका छन्।

प्रहरी नायब महानिरीक्षक हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समेत नेतृत्व लिएका थिए। त्यसअघि लामो समयमा प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरे। तीनवटा युएन मिशनमा समेत सहभागी थापा कुशल सङ्गठकका रुपमा चिनिन्छन्।

प्रहरी समूहका ९८औँ व्याजमा उनीसँगै हालका एआइजी पाल पनि प्रवेश गरेका थिए। थापासँगै प्रहरी सङ्गठनमा प्रवेश गरेका उनका सहकर्मीहरु केही डिआइजी त भने केही एसएसपी नै छन्। नवनियुक्त आइजी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिन्छन्। पाल भने कमान्ड नियन्त्रणमा पोख्त छन्।

प्रहरी निरीक्षक हुँदा प्रतिष्ठानसँगै सल्यान र सिन्धुपाल्चोकमा खटिएका थिए । प्रहरी नायब उपरीक्षक हुँदा धादिङ जिल्लाको नेतृत्व गरे । प्रहरी उपरीक्षक भएपछि उनले झापा र कास्की प्रहरीको नेतृत्व सम्हाले । उनी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा केन्द्रीय प्रहरी प्रवक्तासमेत भइसकेका छन्। उनी एआइजी भएपछि भने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको प्रमुख थिए।

हालका प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एकैचोटि बढुवा भएर महानिरीक्षक बनेका थिए। उनको नियुक्तिमा भने सरकारले प्रशंसा पाएको थियो । प्रहरी सङ्गठनमा हालका थापाको नियुक्तिलाई पनि स्वच्छ निर्णयका रुपमा हेरिएको छ।

ज्ञवालीअघिका प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा समेत पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताए।

चार वर्षअघि जयबहादुर चन्द आइजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए। उपेन्द्रकान्त अर्याल आइजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । सर्वेन्द्र खनाल डिआइजीबाट बढुवा हुँदा तत्कालीन डिआइजी रमेश खरेलले राजीनामा दिए। प्रहरी नियमावलीमा ज्येष्ठता, कुशल नेतृत्वकर्ता, कार्यक्षमता, प्रोत्साहन र परिचालन गर्ने क्षमता लगायतका आधारमा आइजी हुने आधार छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *