कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीलाई धन्यवाद : केजरीवाल

डिसी नेपाल
३१ असार २०७७ १६:१४

नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीहरुलाई धन्यवाद दिएका छन् । बुधबार नयाँदिल्लीमा पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री केजरीवालले कोराना नियन्त्रणमा विपक्षी दलहरुको सहयोग अति महत्वपूर्ण भएको बताए ।

“कोरोनविरुद्धको लडाईमा यदि सरकार एक्लै लड्ने निर्णय गरेको भए सरकार असफल हुन सक्थ्यो, हामीले यसमा केन्द्रीय सरकारसहित सबैलाई किन नसमेट्ने भन्ने सोच्यौँ र सबैलाई सहभागिता र सहयोगका लागि आह्वान गर्यौँ,” उनले भने।

मुख्यमन्त्री केजरीवालले गैरसरकारी संस्था तथा समूहहरुले पनि कोरोना नियन्त्रणका लागि अफ्ठ्यारोमा परेकाहरुलाई धेरै सहयोग गरेको चर्चा गरे ।“कोरोनाविरुद्धको लडाईमा सबै पार्टीलाई सहयोगका लागि सरकारले आह्वान गरेको थियो, भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय काँग्रेसलगायतले राम्रोसँग सहयोग गरे, उनीहरु सबैलाई धेरै धेरै धन्यवाद छ,” उनले भने ।

कुनै कामहरु जानी नजानी गलत तरिकाले भइरहेका बेला विपक्षीहरुले औंल्याइदिने र सुधार गर्ने अवसर पाएको पनि उनले बताए । आफूहरुले काम गर्दा सकेसम्म जनभावना, चाहना र आवश्यकता अनुसार गर्ने प्रयास गरिरहेको र नतिजा राम्रो आएको केजरीवालको भनाई छ ।

कोरोनाभाइरसका कारण दिल्लीमा कुल एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएकोमा १८ हजार ६६४ जना मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् । त्यसैगरी अरु ९३ हजार २३६ जनाले कोरोनाभाइरसलाई जितेपनि तीन हजार ४४६ जनाले भने जित्न नसकेर जीवन गुमाएको मुख्यमन्त्री केजरीवालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *