खाडी जाने लोभमा दलालको विश्वास गर्दा भारतमा अलपत्र
सांकेतिक तस्वीर।
काठमाडौं। कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका–१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका–९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेको प्रहरीले जनाएको छ।
उनीहरुले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्याई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएका थिए। प्रहरीको मानव बेचविखन ब्यूरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरुको उद्धार गरी २०७७ असार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाएको उक्त व्यूरोले जनाएको छ।
साथै उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरू उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment