कसरी बच्ने आँखाको वरिपरि आउने ‘डार्कसर्कल’ बाट ?

डिसी नेपाल
१७ साउन २०७७ ८:४७

काठमाडौं। आँखा, हेर्ने कामका अतिरिक्त साथै अनुहारको सुन्दरताका लागि अति आवश्यक छ। आँखा सही स्थिति, आकार तथा रङ्गमा हुँदा अनुहारको सुन्दरता बढ्छ। तर, कतिपय अवस्थामा आँखाको वरिपरि कालो दाग(दब्बा) देखिन्छ। जसले अनुहारको सुन्दरतामा असर गरिरहेको हुन्छ।

आँखा वरिपरि कालो दाग देखिनुलाई बोलिचालिको भाषामा ‘डार्कसर्कल’ भनिन्छ। यो किन र के कारणले आउँछ ? भन्ने आममानिसलाई थाहा नहुन सक्छ। हाम्रो आँखाको बनावटअनुसार कहीँ होचो, कहीँ उचो हुन्छ। आँखाको बनावटले समेत मानिसहरूमा डार्कसर्कल बढी वा कम देखापर्ने हुन्छ। त्यस्तै आँखा वरिपरि चोटपटक लागेमा पनि डार्कसर्कल देखापर्ने गर्दछ।

आँखाको वरिपरिका छालामा धेरै नशाहरू हुन्छ। उक्त नशा धेरै देखिएमा कालो दाग देखा पर्छ। आँखाको वरिपरि कालो दाग देखिनुमा आँखाको भित्री भाग र बाहिरी भागको प्रमुख भूमिका हुन्छ। चुरोट बढी खाने, घाममा बढी बस्ने वा काम गर्ने, पानी कम सेवन गर्ने मानिसहरूको आँखाको भित्री भागमा बढी कालो दाग देखापर्दछ।

कसैको आँखाको भाग भित्र पसेको हुन्छ त कसैको बाहिर निस्केको हुन्छ। यस्तो अवस्थामा आँखाको भाग भित्र पसेको मानिसमा दाग देखापर्ने समस्या बढी हुन्छ।
त्यस्तै दीर्घरोगीहरूमा पनि यो समस्या धेरै हुने गरेको पाइएको छ। जस्तैः मृगौला, कलेजो र मुटुरोगीहरूमा डार्कसर्कल बढी हुनेगर्छ।

कसरी बच्ने डार्कसर्कलबाट ?
आँखामा आउने कालो दागले सौन्दर्यमा कमी ल्याउनुका साथै आत्मबल घटाउने गर्दछ। अहिलेको समयमा मानिसले सौन्र्दयलाई प्रमुख रूपमा लिने गरेका छन्।
तिलगंगा आँखा अस्पतालमा करिब ५ प्रतिशत मानिस डार्कसर्कलको उपचारका लागि आउने गरेका छन्।

यस्तो समस्या भएका मानिस छाला रोग विशेषज्ञ कहाँ बढी जाने भएका कारण आँखा अस्पतालमा आउनेको संख्या कम भएको तिलगङ्गा आँखा अस्पतालका आँखा तथा अकुलोप्लास्टिक शल्यचिकित्सक, डा. वेन लामा बताउँछन्।

‘यो के कारणले आउँछ भन्नेबारेमा धेरै मानिस अनविज्ञ छन्। यसको प्रमुख कारण अनिदो हो। पूरा समयसम्म सुत्न नपाएका मानिसमा यस्तो समस्या बढी देखिन्छ’, डा. लामाले भन्ने। एक जना वयस्क मानिसलाई स्वस्थ शरीर र स्वस्थ्य आँखाका लागि दैनिक कम्तिमा ८ घण्टा सुत्नु आवश्यक रहेको चिकित्सक को भनाइ छ।

यो डार्कसर्कल आउन नदिन छालाको उचित रेखदेख गर्नु आवश्यक छ। त्यसका लागि घाममा निस्किनुपूर्व सनब्लक क्रिम लगाउने, प्रशस्त्र मात्रामा पानी पिउने, चुरोट बिँडी सेवन नगर्ने, शरीरलाई आवश्यकता अनुसार दैनिक ८ घण्टा सुत्ने र कुनै पनि दीर्घरोग लागेको छ भने समयमै उपचार गराउनु पर्दछ।

यतिगर्दा पनि डार्कसर्कल नगएमा यसको उपचार नै गर्नुपर्ने हुन्छ। यो हटाउनका लागी विभिन्न खाले कस्मेटिक क्रिम बजारमा उपलब्ध छन्। तर, चिकित्सकको सल्लाह वा निगरानी बिना जथाभावी त्यस्ता क्रिमको प्रयोग गर्नु बुद्धिमानी हुँदैन।

‘हाइड्रोकुइनोर’ नामक मल्हमले हाम्रो छालाको रङ्ग फिका गर्दछ। यतिले नभएमा लेजरको प्रयोग गरेर यसलाई कम गर्न सकिन्छ। यसले छालाको रङ्गलाई फिका बनाउन मद्दत गर्दछ र कालो दागलाई हटाउँदछ।
आँखाको वरिवरि कालो देखिने कारणहरू
१. अनिदो बस्नु
२. तनाव बढी लिनु
३. शरीरमा खनिज पदार्थ (आइरन)को मात्रा कमी हुनु
४. घाममा धेरै बेर बस्नु वा काम गर्नु
५. चुरोट रक्सी सेवन गर्नु
६. एलर्जी हुनु, आँखामा धुलो पस्नु
७. शरीरमा पानीको कमी हुनु

आँखाको वरिपरि कालो आउन नदिन अपनाउनुपर्ने उपायहरू
१. शरीरलाई पर्याप्त पुग्ने मात्रामा पानी पिउनु
२. तनावरहित जीवनयापन
३. सन्तुलित आहार
४. ‘जङ्क फुड’ नखाने
५. ताजा फलफूलको जुस पिउने
६. मदिराजन्य तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने
७. घाममा धेरैबेर नबस्ने

प्रस्तुती : पवित्रा खड्का




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *