वीरगञ्जमा शव व्यवस्थापनमा अवरोध गर्नेलाई कारवाहीको तयारी

तर्कबहादुर थापा
१७ साउन २०७७ १०:१२

काठमाडौं। कोराेना संक्रमितको मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्ने क्रममा शुक्रबार राती वीरगञ्जमा स्थानीय र प्रहरीबीच झडप भयो। प्रहरीले हवाई फायर समेत गर्ने अवस्था सृजना भयो। स्थानीयले ढुङ्गामुढा गरे। ढुङ्गा लागेर प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ। अहिले प्रशासनले घटनामा संलग्नलाई कारवाहीको तयारी गरेको छ ।

‘स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि भीडलाई भगाउन हामीले हवाई फायर र अश्रुग्यास प्रयोग गर्नु पर्यो’ पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनोजित कुवरले भने, ‘स्थानीयले अवरोध गरेको यो पहिलो पटक हैन। यसअघि पनि अवरोध गरेका थिए। पुनः त्यही घटना दोहोरियो।’

शव व्यवस्थापन गर्ने ठाउँ गाउँ भन्दा झण्डै ६ किलोमिटर टाढा रहेको डिएसपी कुँवरले जानकारी दिए। स्थानीयले विरोध गर्नुपर्छ भन्ने मनसायले विरोध गरेको उनको बुझाई छ। उनले भने, ‘स्थानीयले विरोधका नाममा विरोध गरेका हुन्। हामीले विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा पनि अझै राम्रोसंग व्यवस्थापन गर्ने गरेका छौं। झण्डै १५ फुट गहिरो खाडल खनेर शव व्यवस्थापन गर्दा पनि उहाँहरुले विरोध गर्नु हुन्छ।’

स्थानीयले कोरोनाबाट संक्रमित भएर मृत्यु भएकालाई सम्बन्धित वडामा शव व्यवस्थापन गर्नु पर्ने भन्ने माग राखेको र गाउँको बाटो हिँडेको निहुँमा प्रहरीमाथि आक्रमण गरेको उनले बताए। ‘आफ्नो–आफ्नो वडामा गाड्नु पर्यो भन्ने माग राख्नु हुन्छ’ डिएसपी कुँवरले भने, ‘जिल्लाका सबै सरोकारवालासँग समन्वय गरेर त्यही स्थान शव व्यवस्थापनको लागि उचित छ भन्ने निर्णय गरी त्यँहा पुर्याइएको हो। स्थानीय नेताहरु पनि केही बोल्नु हुन्न। सल्लाह त उहाँहरुसँग पनि गरेको हो नि।’

जनता मान्दैनन् म के गर्नु ?

झडपमा स्थानीय पनि घाइते भएको वीरगञ्ज महानगरपालिका ३१ का वडा अध्यक्ष चुमन दास चौधरीले जानकारी दिए। डिसी नेपालसँग घटनाको विवरण सुनाउँदै अध्यक्ष चौधरीले भने, ‘घटना हिजो ८-९ बजेको हो। प्रशासनले कोरोना संक्रमितको शव ल्याएर आउनु भएको रहेछ स्थानीयले रोके र झडप भयो। प्रशासनले बल प्रयोग गर्यो स्थानीय पनि घाइते भएका छन्।’

यसअघि पनि शव व्यवस्थापन गर्न जाँदा स्थानीयले विरोध गरेका थिए। अध्यक्ष चौधरीको रोहवरमा फेरि शव त्यो ठाँउमा नल्याउने भन्दै व्यवस्थापन भएको थियो। तर, पुनः शुक्रबार शव व्यवस्थापनको लागि लगेपछि स्थानीयले विरोध गरेको अध्यक्ष चौधरीले जानकारी दिए।

उनले भने, ‘१०-१२ दिन पहिला पनि २ जनाको शव प्रशासनले ल्यायो। स्थानीयले विरोध गरे। मैले सम्झाई बुझाइ गरी फेरि शव नल्याउने भन्दै व्यवस्थापन गरियो। फेरि ल्याइएछ अनि विरोध भएको हो।’

उनका अनुसार शव व्यवस्थापन गर्ने भन्दा पनि गाउँको बाटोमा शव ल्याएकोमा स्थानीयले विरोध गर्ने गरेका छन्। ‘मलाई त प्रशासनसंग मिलेको छ भन्छन् स्थानीयले,’ उनले भने, ‘निकुन्जमा शव व्यवस्थापन गरे पनि हुने भन्ने स्थानीयको माग हो। वडा नं. ३१ र ३२ को बीचमा बाटो छ त्यो बाटो शव नल्याउन् भन्ने जनताको चाहाना हो।’

आफुले सम्झाउँदा पनि स्थानीयले नबुझ्ने गरेको उनले सुनाए। ‘जनता मान्दैनन् मैले के गर्नु ?’ उनले भने, ‘५ किलोमिटर पर शव व्यवस्थापन हुन्छ। कोरोना सर्दैन भन्छु सम्झाउँछु। तर मान्दै मान्दैनन्। नबुझेका भनौं कि कसैले उचाल्छ भनौं कि के भनौं ? जुन वडाका मान्छेको कोरोनका कारण मृत्यु भएको हो त्यही वडामा गाड्नु पर्ने भन्ने माग राख्छन्।’

कानून बमोजिम कारवाही हुन्छः सहायक प्रमुख जिल्ला अधिकारी

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले शव व्यवस्थापनमा अवरोध गर्नेलाई नेपालको प्रचलित कानून अनुसार कारवाही गरिने बताएका छन्। उनले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि लैजाँदै गर्दा शुक्रबार पनि अवरोध उत्पन्न गर्न उक्साउने तत्वको खोजी भइरहेको र उनीहरुलाई नियन्त्रणमा लिइ स्थानीय प्रशासन ऐन २०२८ र सरुवा रोग ऐन २०२० अनुसार कारवाही हुने बताए।

उनले भने, ‘स्थानीयले अवरोध गरे। झडप पनि भयो। अव त्यस्तो उच्छृंखल कार्य गर्न उक्साउने तत्वको खोजी भइरहेको छ। हामी चाँडै त्यस्ता व्यक्तिलाई कानूनको दायरामा ल्याउँछौं।’

स्थानीय राजनीतिक दलका अगुवासहितको सरोकारवाला पक्ष सबैसँग बसेर नै शव व्यवस्थापनको स्थान छनोट गरिएकोले फेरि अवरोध उत्पन्न हुनु भनेको उच्छृङ्खल तत्वको काम भएको भन्दै चाँडै उनीहरुलाई कारवाही गरिने उनले बताए। उनका अनुसार त्यस्ता व्यक्तिहरुको नामावली समेत संकलन गरिसकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *