इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

डिसी नेपाल
२४ साउन २०७७ ९:३४

काठमाडौं। लेबनानको राजधानी बेरुतमा २ हजार ७५० टन अमोनियम नाइट्रेट विष्फोटले सयौंको ज्यान लिएको छ र हजारौं घाइते भएका छन् । बेरुत शहरको ठूलो क्षेत्र तहसनहस भएको छ । ६ वर्षदेखि जम्मा गरेर गोदाममा राखिएको अमोनियम नाइट्रेट विष्फोट हुँदा यस्तो विनाश भएको हो । यो विष्फोट यतिसम्म भयानक थियो कि यसको आवाज २५० किलोमिटर टाढा समुद्रपारीको देश साइप्रससम्म सुनिएको थियो ।

अमोनियम नाइट्रेट अत्याधिक विष्फोटक रासायनिक पदार्थ हो । यसको व्रयोग धेरै काममा गरिन्छ । आम रुपमा यसको प्रयोग कृषिमा रासायनिक मल बनाउनको लागि गरिन्छ । यसबाहेक बम बनाउनको लागि पनि यसको प्रयोग गरिन्छ । यो पदार्थमा थोरै मात्र आगो लागेमा भयानक विष्फोट हुन्छ । विष्फोटबाट नाइट्रोजन अक्साइड र अमोनियाजस्ता खतरनाक ग्यास निस्किन्छन् । अमोनियम नाइट्रेट भयानक तरिकाले विष्फोट भएको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्ता दुर्घटना भएका छन् । यीमध्येको एउटा घटनामा त जमिनमा भएको विष्फोटले आकाशमा उडिरहेको हवाइजहाज पनि खसेको थियो ।

१. २१ सेप्टेम्बर १९२१, ओपाउ, जर्मनी

१९९१ मा सुरु भएको यो प्लान्टमा अमोनियम नाइट्रेट र अमोनियम सल्फेटको साढे ४ हजार टन मिश्रण भण्डार गरेर राखिएको थियो । २१ सेप्टेम्बरका दिन बिहान ७ बजेर ३२ मिनेटमा केवल आधा सेकेण्डमा २ भयानक विष्फोट भए । विष्फोटमा केवल ४५० टन फर्टिलाइजर विष्फोट भएको थियो । विष्फोट यति भयानक थियो कि प्लान्टभित्रै ९० मिटर डूलो खाल्डो बन्यो । खाल्डोको चौडाइ १२५ मिटर र गहिराइ १९ मिटर थियो ।

विष्फोटको आवाज २ सय ७५ किलोमिटर टाढाको म्युनिख शहरसम्म सुनिएको थियो । यो विष्फोटमा ओपाउ शहरका ८० प्रतिशत भवन तहसनहस भएका थिए र साढे ६ हजारभन्दा धेरै मानिस घरबारविहीन भएका थिए । २५ किलोमिटरको दायरामा रहेका घरहरुका झ्याल फुटेका थिए । विष्फोटको ४६ घण्टाभित्र ५ सय लाशहरु भेटिएका थिए । अन्तिमसम्म मृतकको संख्या ५६१ पुगेको थियो । विष्फोटमा मारिएकाहरुको अन्तिम संस्कारमा तत्कालीन जर्मन राष्ट्रपति फ्रेडरिक एबर्ट र प्रधानमन्त्री ह्युगो लेरचेनफेल्डसहित ७० हजार जना सहभागी भएका थिए ।

२. २९ अप्रिल १९४२, टेन्सेडेर्लो, बेल्जियम

त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । बेल्जियममाथि जर्मनीले कब्जा गरेको थियो । बेल्जियमका टेन्सेडेर्लोमा एक रासायनिक उद्योग थियो जसलाई बन्द गराइएको थियो । तर, पछि बेल्जियमले आत्मसमर्पण गरेपछि यो उद्योगलाई पुनः संचालन गरियो । २९ अप्रिलमा यो उद्योगमा विष्फोट भयो ।

जुन दिन विष्फोट भएको थियो त्यस दिन हल्का चिसो थियो र सबै आफ्नो काममा गइरहेका थिए । बिहान ११ बजेर २७ मिनेटमा फ्याक्ट्रीमा राखिएको १५० टन अमोनियम नाइट्रेटमा विष्फोट भयो । केही पलमै सयौं मिटर उचाइसम्म धुवाँमात्र थियो । विष्फोटका कारण ७० मिटर फराकिलो र २३ मिटर गहिलो खाल्डो बन्यो । विष्फोटमा १९० जना मारिएका थिए र ९०० घाइते भएका थिए । मारिनेमध्ये ११९ जना उद्योगमा काम गर्ने कामदार थिए ।

३. १६ अप्रिल १९४७, टेक्सास, अमेरिका

दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाले अमोनियम नाइट्रेटलाई विष्फोटकको रुपमा प्रयोग गरेको थियो । पछि यसलाई मलको रुपमा प्रयोग गर्न थालियो । १६ अप्रिल १९४७ मा नेब्रास्का र लोभामा बनेको अमोनियम नाइट्रेट रेलबाट टेक्सास पुर्याइयो । त्यसपछि यसलाई जहाजमा लोड गरिँदै थियो । जहाजमा २ हजार ३ सय टन अमोनियम नाइट्रेटको साथमा सूर्ती र गोला बारुद थिए । बिहान करिब ८ बजे कार्गोबाट धुवाँ उडिरहेको देखियो । आगो निभाउने कोसिस गरियो तर आगो निभिरहेको थिएन ।

९ बजेर १२ मिनेटमा अमोनियम नाइट्रेटमा विष्फोट भयो । यसबाट पूरै बन्दरगाह तहसनहस भयो । यो विष्फोटपछि पानीजहाज टुक्रा–टुक्रा भएर हावामा उड्न थाल्यो । विष्फोटका कारण टेक्सास नजकै उटिरहेका २ साना हवाइजहाज समेत खसेका थिए । विष्फोटमा हजार भन्दा बढी घर क्षतिग्रस्त भएका थिए र २ हजार मानिस घरबारविहीन भएका थिए । विष्फोटका कारण ५८१ जनाको ज्यान गएको थियो र ५ हजारभन्दा बढी घाइते भएका थिए ।

४. १९ अप्रिल १९९५, ओक्लाहोमा अमेरिका

१९ अप्रिल १९९५ को दिन बिहान ओक्लाहोमाको ागि सबैभन्दा दुखद बिहान थियो । यस दिन पूर्व सैनिक तिमुथी म्याकवेगले ओक्लाहोमा शहरको एक सरकारी भवन अगाडि भाडामा लिएको ट्रक रोके । यो ट्रकमा २ टन अमोनियम नाइट्रेट थियो । बिहान ९ बज्नुभन्दा अगाडि नै म्याकवेग ट्रक लिएर पुगेका थिए । केही बेरमा म्याकवेग ट्रकबाट निस्किए र ढोका लक गरेर भाग्न थाले । कसैले केही बुझ्न सकेनन् । ९ बजेर २ मिनेटमा ट्रक विष्फोट भयो ।

सरकारी भवनको एक तिहाइ भाग पूरै क्षति भयो । आसपासका ३ सय भवन केही पूर्ण र केही आंशिक रुपमा क्षतिग्रस्त भए । सयौं कारहरु पनि क्षतिग्रस्त भए । यो घटनामा १६८ जनाको ज्यान भएको थियो । यसलाई विश्वका अत्यन्तै खतरनाक आतंकवादी आक्रमणको रुपमा गनिन्छ । भवनको दोस्रो तल्लामा चाइल्ड केयर सेन्टर थियो जहाँ साना साना बालबालिकाहरु थिए । विष्फोटमा १९ जना बालबालिकाको ज्यान गएको थियो ।

५. २२ अप्रिल २००४, रयोंगचोन, उत्तर कोरिया

२२ अप्रिल २००४ का दिन उत्तर कोरियाको राजधानी प्योंगयांगबाट ५० किलोमिटर टाढा रयोंगचोन स्टेशनमा दुई ट्रेनहरु ठोक्किएका थिए । यी दुवैमा विष्फोटक सामग्री थिए । ट्रेनहरु ठोक्किएपछि निकै खतरनाक विष्फोट भयो । २ दिनसम्म उत्तर कोरियाले यो विष्फोटको कारण बताएन । विष्फोटको ४८ घण्टापछि उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले विष्फोटको कारण अमोनियम नाइट्रेट भएको बतायो ।

केसीएनएले कुनै एक ट्रेनबाट अमोनियम नाइट्रेट लिक भएर विष्फोट भएको बताएको थियो । उत्तर कोरियाले विष्फोटमा ५४ जनाको मृत्यु भएको बताएको थियो । तर, घटनास्थल पुगेको रेडक्रसको टिमका अनुसार विष्फोटका कारण १८५० घर तहसनहस भएका थिए र १६० जनाको मृत्यु भएको थियो । साढे ६ हजार घाइते भएका थिए ।

६. १२ अगष्ट २०१५, तियानजिन, चीन

१२ अगष्ट २०१५ का दिन चीनको तियानजिनको बन्दरगाहमा एक कन्टेनरमा एकपछि अर्को गरी कैयौं विष्फोट भएका थिए । सुरुका २ विष्फोट ३० सेकेण्डको अन्तरमा भएका थिए । पहिलो विष्फोट १२ अगष्ट राती ११ बजे भएको थियो र दोस्रो ३० सेकेण्डपछि भएको थियो । दोस्रो विष्फोट निकै खतरनाक थियो जसमा ८०० टन अमोनियम नाइट्रेट विष्फोट भएको थियो ।

यी दुई विष्फोटका कारण लागेको आगोका कारण १५ अगष्टमा ८ विष्फोट भएका थिए । विष्फोटमा १७३ जनाको ज्यान गएको थियो । ७९७ जना घाइते भएका थिए । विष्फोटका कारण आसपासका ३०४ भवन, १२ हजार ४३८ कारहरु र ७ हजार ५३३ कन्टेनर पूरै क्षतिग्रस्त भएका थिए ।

७. ४ अगष्ट २०२०, बेरुत लेबनान

लेबनानको राजधानी बेरुतमा परमाणु विष्फोटजस्तै २ विष्फोट भए । एउटा हल्का विष्फोट थियो तर दोस्रो विष्फोट निकै डरलाग्दो थियो । अहिलेसम्म प्राप्त जानकारीअनुसार गोदाममा राखिएको २ हजार ७५० टन अमोनियम नाइट्रेट विष्फोट भएको हो तर विष्फोटको कारण थाहा भइसकेको छैन ।

विष्फोटको आवाज २५० किलोमिटर टाढा समुद्रपारीको देश साइप्रससम्म सुनिएको थियो । ९ किलोमिटर टाढाको अन्तर्राष्ट्रिय विमानस्थलको प्यासेन्जर टर्मिनलका सीसासमेत फुटेका थिए । विष्फोटमा मारिनेको संख्या १५४ पुगिसकेको छ । ५ हजार घाइते छन् । यो विष्फोटका कारण ३ लाख मानिस घरबारविहीन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *