कोरोना महामारीः विराटनगरमा भाडामा बस्नेहरुलाई राम्रो मान्दैनन् घरबेटी

डिसी नेपाल
१ भदौ २०७७ १८:५३

काठमाडौं। प्रदेश नम्बर १ को एकमात्र महानगरपालिका विराटनगर कोरोना महामारीको चपेटामा परेको छ। दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै भाडामा बस्नेहरुको दुःखका दिन पनि शुरु भएका छन्।

विराटनगरमा सोमबारसम्म कोरोना संक्रमितको संख्या ५९९ पुगेको छ। सोमबारमात्र २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। विराटनगरमा सर्वसाधारणदेखि फ्रन्टलाइनमा खटिएका पत्रकारहरु पनि कोरोना संक्रमित भएका छन्। हालसम्म ८ जना पत्रकार र ३ जना सञ्चार माध्यमसँग सम्बन्धित अन्य कर्मचारी संक्रमित भएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष विक्रम लुईँटेलले बताए।

उनले डिसी नेपालसँग फोनमा भने, ‘यहाँ ८ जना पत्रकार र अन्य कर्मचारी गरी ११ जना सञ्चारकर्मी कोरोना संक्रमित भएका छन्।’ उनका अनुसार कोरोना संक्रमितहरुलाई राख्ने आइसोलेशन बेडको कमीका कारण त्यहाँ कोरोना संक्रमितलाई होम आइसोलेशनमा राख्न प्राथामिकता दिइएको छ। तर, यसबाट भाडामा बस्नेहरु भने प्रताडित बन्न पुगेका छन्। पत्रकार लुईँटेलले भने, ‘पत्रकारमात्र होइन अन्य सर्वसाधारणहरु पनि संक्रमित भएपछि होम आइसोलेशनमै बस्न बाध्य छन्। तर, उनीहरुलाई घरबेटीले दुःख दिइरहेका छन्। घरबेटीहरुले सकेसम्म कोरोना संक्रमितहरु आफ्नो घरमा नबसिदिए हुन्थ्यो भन्नेमा छन्।’

पत्रकार लुईँटेलले विराटनगर महानगरपालिका क्षेत्रमा कोरोना संक्रमितहरुलाई आइसोलेशन बेडको कमी हुँदा समस्या भएको बताए। उता विराटनगरका मेयर भीम पराजुलीले भने घरबेटीले दुःख दिएको विषय महानगरमा नआएको बताए। उनले डिसी नेपालसँग भने, ‘यस्तो महामारीको समयमा सबैले सहयोग गर्नुपर्ने हुन्छ। हामीले पहिला नै सूचना जारी गरेर भाडामा बस्नेहरुलाई सहयोग गर्न भनेका छौं। यदि कसैले भाडामा बस्नेहरुलाई दुःख दिएको रिपोर्ट आयो भने आवश्यक कारबाही गर्छौं।’

विारटनरमा कोरोनाको संक्रमण बढिरहेपछि आफूहरुले पीसीआर ल्याबको स्थापना गर्न लागेको मेयर पराजुलीले बताए। उनले भने, ‘हामीसँग केही संरचनाहरु छैनन्। ल्याब छैन। अस्पताल र्छैन। आइसोलेशन बेड बनाउँदै छौं। १२० बेडको आइसोलेशन बेड निर्माण अन्तिम चरणमा छ।’

मेयर पराजुलीले विराटनगरमा कोरोनाको संक्रमण बढिरहेकाले संघीय सरकारका तर्फबाट भेन्टिलेटर र आईसीयूको व्यवस्था हुनुपर्ने बताए। उनले भने, ‘महानगरको कार्यक्षेत्रमा नपरे पनि पीसीआर ल्याब र आइसोलेशन बेड बनाउँदै छौं। संघीय सरकार र प्रदेश सरकारलाई घच्घच्याइरहेका छौं। अब भेन्टिलेटर र आईसीयूको तत्काल व्यवस्था हुनुपर्ने देखिएको छ। जसरी पनि नगरवासीको ज्यान जोगाउनु पर्यो।’

विराटनगरमा हालसम्म ८ जनाकाे काेराेनाका कारणा मृत्यु भइसकेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *