जम्मू कश्मीरबाट १० हजार सुरक्षाकर्मी फिर्ता बोलाइयो

डिसी नेपाल
४ भदौ २०७७ १८:३०

नयाँ दिल्ली (एजेन्सी)। भारतको केन्द्र सरकारले जम्मू कश्मीरमा तैनथ गरिएका १० हजार सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ। गत वर्ष अगस्ट पाँचमा जम्मू कश्मीरको विषेश अधिकार कटौती गर्नुअघि त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

केन्द्र सरकारले गत वर्ष अगस्ट ५ मा जम्मू कश्मीरलाई विषेशाधिकार दिने संविधानको धारा ३७० खारेज गरेको थियो भने जम्मु कश्मीरलाई विभाजन गरेर दुई वटा केन्द्र शासित प्रदेश बनाएको थियो।

भारतको केन्द्रीय गृह मन्त्रालयले बुधबार जम्मू कश्मीरबाट सुरक्षाकर्मीका १०० वटा कम्पनी फिर्ता गरेर पुरानै स्थानामा तैनाथ गर्ने निर्णय गरेको हो।

सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयलाई केन्द्र सरकार र सत्तारुढ दल भाजपाले बढाईचढाई गरेर प्रचार गरे पनि अन्य दलहरुले भने यसलाई कए नाटक भनेका छन्। जम्मू कश्मीरको विषेशाधिकार खारेज गर्नुअघि केन्द्र सरकारले हजारौं नेताहरुलाई नजरबन्दमा राखेको थियो भने त्यहाँ सञ्चार सम्पर्क पनि विच्छेद गरेको थियो। सडकमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। जम्मू कश्मीर संसारमा जनघनत्वको हिसाबले सबैभन्दा धेरै सैनिकीकरण भएको क्षेत्र हो।

लाखौं सुरक्षाकर्मी भएको क्षेत्रबाट १० हजार सुरक्षाकर्मी फिर्ता हुँदैमा केही फरक नपर्ने जम्मू कश्मीर केन्द्रित दलका नेताहरुले बताएका छन्। उनीहरुले भारत सरकारले संसारलाई देखाउन सुरक्षाकर्मी फिर्ताको नाटक गरेको बताएका छन्। उनीहरुले संसारलाई भ्रममा पार्न सरकारले यस्तो निर्णय गरेको बताएका छन्।

भारत सरकारले जम्मू कश्मीरको अवस्था सुधार आएको देखाउन सुरक्षाकर्मी फिर्ता बोलाएको कतिपय विश्लेषकहरुले बताएका छन्। तर अझै पनि केही नेताहरु नजरबन्दमा छन् भने जम्मू कश्मीरमा हत्या र मुठभेडका घटनाहरु भइरहेका छन्। त्यहाँ पूर्णतयता कर्फ्यू हटाइएको पनि छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *