अमेरिकाको फ्लोरिडामा ७५ करोड लामखुट्टे प्रकृतिमा छोडिने
बीबीसी । अमेरिकाको फ्लोरिडाका अधिकारीहरूले ७५ करोड लामखुट्टेलाई प्रकृतिमा छोड्न अनुमति दिएका छन्। तिनीहरू स्थानीय प्रजातिको सङ्ख्या कम गर्न वंशाणुगत संरचनामा परिवर्तन गरिएका लामखुट्टे हुन्।
अधिकारीहरूले यसले डेङ्गी र जीका भाइरसजस्ता रोग सार्ने लामखुट्टेको सङ्ख्या कम गर्ने अपेक्षा गरेका छन्। वर्षौँसम्म विवादास्पद रहेको उक्त योजनालाई कतिपय वातावरणवादी समूहहरूले नसोचिएको असर ल्याउने भन्दै विरोध गरेका छन्।
उनीहरूले यसले वातावरणीय चक्रलाई असर गर्ने र झन् जोखिम बढाउने लामखुट्टे विकास हुनसक्ने बताएका छन्। तर यसका संलग्न कम्पनीले भने मानिस र वातावरणलाई नराम्रो असर नगर्ने दाबी गरेको छ।

ती लामखुट्टेहरू सन् २०२१ मा फ्लोरिडाका केही टापुहरूमा छोडिने योजना छ। गत मेमा अमेरिकी वातावरणीय निकायले ब्रिटिश(अमेरिकी अक्सिटेक कम्पनीलाई एक प्रजातिको भाले लामखुट्टेलाई वंशाणुगत संरचनामा परिवर्तन गरेर उत्पादन गर्न स्वीकृति दिएको थियो।
स्वीकृत प्रजाति डेङ्गी, जीका र अन्य खतरनाक रोगहरू सार्ने एडीज प्रजाति हो। पोथी लामखुट्टेले अण्डा पार्न आवश्यक रगतका लागि मानिसलाई टोक्छ। छोडिएका भाले लामखुट्टेले प्रकृतिमा रहेका पोथीसँगको समागमबाट थप लामखुट्टे जन्माउने अपेक्षा गरिएको छ।
तर ती भालेमा रहेको एक प्रकारको प्रोटीनका कारण जन्मिएका पोथीहरू मानिसलाई टोक्न सक्ने अवस्थामा पुग्नु अगाडि नै मर्नेछन्। मङ्गलवार फ्लोरिडाका अधिकारीहरूले दुई वर्षमा ७५ करोड लामखुट्टे छोड्न अन्तिम अनुमति दिएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment