प्रधानमन्त्री ओलीलाई भेटेर डब्ल्यूएचओका प्रतिनिधिले भने, ‘अवस्था अझै खराब आउन सक्छ’

डिसी नेपाल
११ भदौ २०७७ २०:०८

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित आवासीय प्रतिनिधि डा.जोस भान्डेयरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नेपालमा कोरोना संक्रमण अझै बढ्न सक्ने चिन्ता प्रकट गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा कोरोना महामारीका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए।

सो अवसरमा कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेका कामहरुकोसमेत डा. जोसले प्रशंसा गरेका थिए। तर, आगामी दिनहरु नेपालका लागि अझ खराब हुन सक्ने भन्दै त्यसका लागि तयारी गर्न पनि सुझाव दिएको जनाइएको छ।

उनले नेपालमा कोरोनाको संक्रमण अझ तिब्र रुपमा बढ्ने भएकाले आवश्यक तयारी गर्न सरकारलाई भनेका हुन्। उनले क्वारेन्टिन, आइसोलेशन बेड र स्वास्थ्यकर्मीको यथेष्ट व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्। यस्तै आपूर्ति चेन नटुट्ने गरी काम गर्नसमेत उनले सुझाएका छन्।

नेपालमा पछिल्ला दिनहरुमा संक्रमितको संख्या लगातार बढिरहेको छ। बिहीबारमात्र सरकारले दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका थिए। सो संख्या नेपालमा एकैदिन संक्रमित हुनेहरुको सबैभन्दा ठूलो हो। नेपालमा हालसम्म दुई दिनमात्र एकहजारभन्दा धेरै नयाँ संक्रमणका केस रेकर्ड भएका छन्। बिहीबार नेपालमा संक्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेहरुको संख्या १८३ पुगेको छ। हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ। दक्षिण एशियाली मुलुकहरु मध्ये सन्चो हुनेहरुको प्रतिशत नेपालमा सबैभन्दा कमजोर रहेको तथ्यांकले देखाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *