मोरङमा निषेधाज्ञा, प्रदेश नं १ मा ३ हजार सङ्क्रमित

डिसी नेपाल
१६ भदौ २०७७ २१:५९

विराटनगर। कोरोना सङ्क्रमण बढेपछि मोरङमा निषेधाज्ञा लागू गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार एक आदेश जारी गर्दै यही भदौ १६ गते राती १२ बजेबाट २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेका हुन्। निषेधाज्ञा मोरङ जिल्लाभर लागू हुनेछ। मोरङमा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन्। तीमध्ये २१ महिला र ६६ जना पुरुष छन्। सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा आज सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीमा तीन महिला र १८ पुरुष, दुहवीमा तीन महिला र चार पुरुष, धरानमा एक महिला र एक पुरुष, विराटनगरमा तीन महिला र सात पुरुष, बेलबारीमा दुई महिला र एक पुरुष तथा रतुवामाईमा दुई पुरुषमा छन् ।

मन्त्रालयका अनुसार झापाको दमकमा तीन महिला र पाँच पुरुष, बाह्रदशीमा एक महिला र तीन पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा एकएक पुरुष, पाँचथरको फिदिममा एक पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४५४ पुगेको छ । मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र कोभिड–१९ आइसोलेसन केन्द्र रङ्गेलीबाट दुई गरी १४ जना निको भएर घर फर्केका छन् । हालसम्ममा कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ६०३ पुगेको छ।

पछिल्लो २४ घण्टाका अवधिमा एक हजार १७५ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्ममा ९० हजार १६५ जनाको परीक्षण भइसकेको छ । पछिल्लो समयको तथ्याङ्कलाई हेर्दा विराटनगर उपमहानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो तथा सुनसरी, मोरङ र झापा जिल्लामा बढ्ने क्रममा रहेको पाइएको छ ।

जनकपुर– पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।
सो अवधिमा मृत्यु हुनेमा पर्सा वीरगञ्ज–२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका–६का ६५ वर्षीय र बाराको कोल्हवी नगरपालिकाका एक गरी चार जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ निर्देशक विजयकुमार झाले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ८८ नयाँ सङ्क्रमित थपिएका छन् । सोअनुरुप सप्तरी र सिरहाबाट एकएक, धनुषाबाट २९, महोत्तरीबाट ११, सर्लाहीबाट १६, रौतहटबाट तीन, बाराबाट आठ, पर्साबाट १८ र अन्य एक जना गरी ८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ३०६ पुगेको छ । तीमध्ये ५१ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म चार हजार ९८८ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनमा आजसम्म ७२१ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ५९८, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेशनमा चार हजार १०३ जना बसेका छन् । (राससको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *