बाबुराम भट्टराईलाई सूर्य थापाको प्रश्न : प्रधानमन्त्री ओलीसँग आँखा जुधाएर कुरा गर्ने हिम्मत छ ?

डिसी नेपाल
२२ भदौ २०७७ ९:१८
4
Shares

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै लेखे, ‘ गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए। विज्ञको रुपमा आएको पाएको शंकाको लाभ पूरै खेर फाले। ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने संभावना पनि छैन। रुनु न हाँस्नु!’

डा. भट्टराई सामाजिक संजालमा निकै सक्रिय रहन्छ। उनी विभिन्न विषयमा टिप्पणी गरिरहन्छन्। कतिपयले डा. भट्टराईको भाषा अशिष्ट भन्दै आलोचना पनि गर्ने गरेका छन्।

भट्टराईले ट्वीट गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी’ भन्दै सोमबार विहान सामाजिक संजाल फेसबुकबाट जवाफ फर्काएका छन्।

थापाले भट्टराईलाई सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि? डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि?’ भन्दै प्रश्न गरेका छन्। उनले डा. भट्टराईले ट्वीटमा प्रयोग गरेकाे केही भाषा, गालीगलोज र सन्तुलन गुमाएकोजस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ? भन्दै प्रश्न पनि गरेका छन्।

‘विगत तीन वर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु?,’ थापाले लेखेका छन्, ‘अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ? कसरी त्यसको अपेक्षा गर्नु?’

थापाले भट्टराईलाइ प्रधानन्त्री ओलीसँग आँखा जुधाएर सामुन्नेमा उभिउर ओलीको निरंकुश, भ्रष्ट र गफास्टक नेतृत्व भन्न चुनौतीसमेत दिएका छन्। थापाले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ? (ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व… !’

थापाले ओली निरंकुश राजतन्त्र विरूद्ध गोलघर, जेल र सेलमा १४ वर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै भन्दै प्रश्न गरेका छन्।

थापाले विप्पा सम्झौताको प्रसंग उल्लेख गर्दै लेखेका छन्, ‘जबकि ‘विप्पा सम्झौता गरेर जुवा खेलें’ भन्ने तपाईँको आफ्नै कार्यशैली सम्झिनुस त! कस्तो थियो, प्रधानमन्त्री हुँदा जुवाडे भन्न अरूले पर्छ र?’

थापाले न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको घटना नबिर्सिन थापाले चेतावनी दिएका छन्।
‘तपाईँं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले ‘माओवाद’ लाई पनि धरधरी रूवाएको होइन र?,’ थापाले प्रश्न गर्दै लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि? यस्तो बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएको हो?’ , उनले लेखेका छन्, ‘तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्तो लेखेर दुनियाँ हँसाउन चाहिँ छाड्नुस।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *