म्यान्मारकी नेत्री आङ सान सु की पाँच वर्षपछि पहिलो पटक सार्वजनिक

डिसी नेपाल
१८ साउन २०८३ १२:४०

काठमाडौं । म्यान्मारकी पूर्व नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सु की करिब पाँच वर्षको लामो हिरासतपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन्।

म्यान्मारको सैन्य सरकार (जुन्ता) ले सोमबार सु कीका केही तस्बिरहरू सार्वजनिक गरेको छ। तस्बिरमा उनी इन्टरनेसनल कमिटी अफ द रेडक्रसका म्यान्मार प्रतिनिधि अर्नो डे ब्याकसँग भेटघाट गरिरहेको देखिएकी छन्। सन् २०२१ मा भएको सैन्य विद्रोह पछि बाह्य विश्वसँग उनको यो सबैभन्दा दुर्लभ सार्वजनिक सम्पर्क मानिएको छ।

सैन्य सरकारका अनुसार सु की र रेडक्रस प्रतिनिधिबिचको यो भेटघाट सोमबार बिहान भएको हो। यद्यपि, सो उच्चस्तरीय बैठक म्यान्मारको कुन स्थानमा भएको थियो र उनीहरूबिच के-कस्ता विषयमा छलफल भयो भन्नेबारे सैन्य सरकारले कुनै विवरण सार्वजनिक गरेको छैन।

सार्वजनिक गरिएका तस्बिरहरूमा ८१ वर्षीया सु कीले आफ्नो ८१औँ जन्मदिनको केक काट्दै गरेको दृश्य पनि समावेश छ। तस्बिरमा उनी मुस्कुराइरहेकी र सामान्य अवस्थामा देखिएकी छन्। यद्यपि, उनको वास्तविक स्वास्थ्य अवस्थाबारे कुनै पनि आधिकारिक विवरण जारी गरिएको छैन।

सन् २०२१ को फेब्रुअरीमा म्यान्मारको सेनाले प्रजातान्त्रिक ढङ्गले निर्वाचित सरकारलाई पदच्युत गरी सत्ता कब्जा गरेपछि आङ सान सु कीलाई हिरासतमा लिएको थियो।

त्यसयता उनलाई सार्वजनिक रूपमा कतै देखाइएको थिएन भने बाह्य विश्व र उनका समर्थकहरूसँगको सम्पर्कलाई पनि सैन्य शासकहरूले पूर्ण रूपमा बन्देज लगाएका थिए। पाँच वर्षपछि सार्वजनिक भएको यो तस्बिरले अन्तर्राष्ट्रिय जगत् र म्यान्मारको राजनीतिमा पुनः चासो जगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *