भारत–चीन तनाव घटाउन अग्रसर, विदेशमन्त्रीहरुको छलफलपछि ५ बुँदे सहमति

डिसी नेपाल
२६ भदौ २०७७ ९:५३

काठमाडौं। सीमामा बढिरहेको तनाव बढाउन एक अर्कालाई जिम्मेवार भनिरहेका भारत र चीन अन्ततः तनाव घटाउने सहमतिमा पुगेका छन् । तनाव घटाउनको लागि दुवै देशका विदेश मन्त्रीहरुबीच रुसको राजधानी मस्कोमा छलफल भयो । छलफलपछि दुवै देशका विदेशमन्त्रीहरुले ५ बुँदे लिखित सहमति गरेका छन् । दुई देशबीचको तनाव घटाउने, सीमा क्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोलमा सैनिक गतिविधि नियन्त्रित गर्ने र स्थितिलाई सहज बनाउने लगायतका विषयमा सहमति भएको हिन्दूस्तान टाइम्सले लेखेको छ ।

मस्कोमा भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच करिब साढे २ घण्टा छलफल भएपछि यस्तो सहमति भएको समाचारमा जनाइएको छ । शाङघाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ) को कार्यक्रममा सहभागी हुन् भारत र चीन दुवै मुलुकका विदेश मन्त्री रसियामा छन्। यही क्रममा बिहीबार बेलुका दुवै समकक्षीबीच छलफल भएको र त्यो सहमतिलाई लिखित रुपमा शुक्रबार बिहान जारी गरिएको हो ।

दुवै पक्षले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भारत–चीन सम्बन्धमा राजनीतिक नेतृत्वबाट विकास हुने सहमतिको श्रृङ्खलालाई दुवै पक्षले अनुसरण गर्ने तथा मतभेदलाई विवादित बनाउन नदिने सहमति भएको जनाइएको छ । साथै वक्तव्यमा अहिले सीमामा जे भइरहेको छ त्यो दुवै देशको प्राथमिकताको विषय नभएको उल्लेख छ । सीमामा रहेका सैनिकबीच वार्ता जारी राख्ने, सैनिक सक्रियतालाई कम गर्न, दूरी कायम गर्ने र स्थितिलाई सहजीकरण गर्ने विषयमा सहमति भएको उल्लेख छ।

चीन–भारतबीचको सीमासँग सम्बन्धित सबै सम्झौता र प्रोटोकलहरुको पालना गर्ने, सीमा क्षेत्रमा शान्ति कायम राख्ने र तनाव बढाउनसक्ने खालका गतिविधिलाई नियन्त्रणमा राख्ने सहमति भएको छ। दुवै मुलुकका विशेष प्रतिनिधिबीच छलफलका लागि संयन्त्र तयार गर्ने विषयमा पनि छलफल भएको थियो । दुवै देशका मन्त्रीहरुले स्थितिलाई सहज बनाउन सहमति जनाएका छन्। सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था कायम गर्न र सम्बन्ध सुधारका लागि नयाँ विन्दूबाट समझदारी गर्ने विषयले छलफलमा स्थान पाएको थियो।

गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक भिडन्त भएयता भारत र चीन सीमामा तनाव कायमै छ। यो झडपमा २० जना भारतीय सैनिक मारिएका थिए । चीनतर्फ पनि हताहती भएको खबर आए पनि चीनले हताहतीको स्पष्ट संख्या बताएको छैन । दुवै मुलुकले एक अर्कालाई आक्षेप लगाउँदै आएका छन्। पछिल्लो समय चीनले भारतीय सेनाले घुसपैठ गरेको आरोप लगाएको थियो। अर्कातिर भारतले चिनियाँ सैनिकले उत्तेजित बनाउन खोजेको दोषारोपण गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *