‘निम्स दाइ’को निधनले स्तब्ध जन्मगाउँ: नयाँ घर बनाउने सपना अधुरै (भिडियोसहित)
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना अहिले विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को असामयिक निधनको खबरले गहिरो शोकमा डुबेको छ।
पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा उनको निधन भएपछि जन्मथलोका आफन्त, छिमेकी र साथीभाइहरू स्तब्ध बनेका छन्।
निर्मलकी आफन्त कमला केसीका अनुसार परिवार र गाउँलेहरू चार दिनसम्म उनी सकुशल फर्किने आशामा थिए। तर अन्ततः त्यो आशा निराशामा बदलियो। दुई वर्षअघि दाना आएका बेला निर्मलले पुख्र्यौली जग्गामा मौलिक शैलीको नयाँ घर बनाउने योजना सुनाएको स्मरण गर्दै उनले त्यो सपना अब अधुरै रहेको दुःखी हुँदै बताइन्।
निर्मलका बाल्यकालका साथी तथा अन्नपूर्ण गाउँपालिका-३ का वडाध्यक्ष रमेश पुर्जाले सानैदेखि साहसी, अडिग र लक्ष्यप्रति दृढ स्वभावका कारण नै निर्मलले विश्व पर्वतारोहणको क्षेत्रमा ऐतिहासिक कीर्तिमान रच्न सफल भएको बताए।
निर्मलले अन्नपूर्ण आधार शिविरमा भरियाहरूका लागि आश्रयस्थल निर्माण गर्ने योजनासमेत बनाएका थिए। यसका साथै, ‘निम्स फाउन्डेशन’मार्फत दानाका विद्यालयहरूमा छात्रवृत्ति, शैक्षिक सामग्री वितरण तथा पर्यटन र स्वास्थ्य क्षेत्रमा विभिन्न सहयोगका योजनाहरू अघि बढाइएका थिए।
निर्मलको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले सोमबार पालिकाभरि शोक बिदा दिएको छ भने उनको शालिक निर्माण गर्ने घोषणासमेत गरेको छ। यता दानावासीले पनि उनको ‘अस्तु’ जन्मथलोमै ल्याएर सेलाउने र स्थायी सम्झनाका रूपमा शालिक स्थापना गरिनुपर्ने माग राखेका छन्।
ब्रिटिस गोर्खा सैनिकबाट विश्वप्रसिद्ध पर्वतारोही बनेका निर्मल पुर्जाले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सबैभन्दा छिटो आरोहण गर्नेसहित अनेकौँ विश्वकीर्तिमान कायम गरेका थिए।
जन्मथलोमै घर बनाउने उनको व्यक्तिगत सपना अधुरै रहे पनि उनले छाडेर गएको साहस, प्रेरणा र अतुलनीय योगदान भने दानावासीसँगै सिङ्गो नेपालका लागि सधैँ अमर रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment