भ्याक्सिन विकासमा बाजी मार्दै चीन ! अब आम सर्वसाधारणको लागि खुला हुँदै

डिसी नेपाल
३० भदौ २०७७ १५:३८

काठमाडौं। आपतकालीन प्रयोगको लागि स्वीकृति पाइसकेको चीनको कोरोना भ्याक्सिनले अब पूर्ण स्वीकृति पाउने भएको छ । चीनको भ्याक्सिन आम सर्वसाधारणको प्रयोगको लागि नोभेम्बरको सुरुवातमै उपलब्ध हुन सक्नेछ छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका एक अधिकारीले यस्तो बताएका हुन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार चीनका ४ भ्याक्सिन क्लिनिकल ट्रायलको तेस्रो र निर्णायक चरणमा छन् । चीनले यसअघि नै तीन भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ । आपतकालीन स्वीकृति पाएका भ्याक्सिन चीनमा अत्यावश्यक सेवासँग सम्बन्धित व्यक्तिहरुलाई दिइएको छ । उता चीनको सिनोफार्मले विकास गरेको भ्याक्सिनको युएइमा गरिएको अहिलेसम्मकै ठूलो ट्रायल पनि सफल भएको छ र युएइमा पनि यो भ्याक्सिनले आपतकालीन प्रयोगको इजाजत पाइसकेको छ । युएइमा ३१ हजार स्वयंसेवकमा ट्रायल भएको थियो ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका बायोसेफ्टी एक्सपर्ट गुइझेन वुले सोमबार एक अन्तरवार्तामा भ्याक्सिनको फेज ३ ट्रायल निकै सहज तरिकाले भइरहेको र नोभेम्बर वा डिसेम्बरमा भ्याक्सिन आम सर्वसाधारणको प्रयोगको लागि उपलब्ध हुन सक्ने बताए । गुइझेन वुले आफू स्वयंले पनि गएको अप्रिलमा भ्याक्सिन लगाएको र त्यसपछिका महिनामा आफूलाई कुनै पनि किसिमको समस्या नभएको बताए ।

यद्यपि उनले आफूले कुन भ्याक्सिन लगाएका थिए भन्ने प्रस्ट पारेनन् । चीनका कम्पनी सिनोफार्म र सिनोभ्याक बायोटेकले चीनको इमरजेन्सी प्रयोग कार्यक्रम अन्तर्गत तीन भ्याक्सिन विकास गरिरहेका छन् । चौथो भ्याक्सिन क्यान्सिनो बायोलोजिक्सले तयार गरेको हो जसलाई चिनियाँ सेनामा प्रयोग गर्न अनुमति दिइएको छ । चीनको सेनाले गएको जूनदेखि नै यो भ्याक्सिनको प्रयोग गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *