रूकुममा पहिराले विद्युत् सेवा अवरुद्ध

डिसी नेपाल
१० असोज २०७७ १२:४६

रूकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो।

विद्युत् सेवा अवरुद्ध भएसँगै भूमे–२ का नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । यही असोजको ७ गते वर्षासँगै झरेको पहिरोले नहरमा क्षति पुर्‍याएको थियो । त्यसै दिनदेखि उक्त विद्युत् आयोजनाको विद्युत् सेवा रोकिएपछि नागरिक समस्यामा परेका हुन्।

पैतालीस किलोवाट क्षमताको उक्त विद्युत् आयोजना बन्द भएसँगै आधा दर्जनभन्दा बढी गाउँका ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएको विद्युत् आयोजना व्यवस्थापन समिति सचिव पृथीबहादुर बुढाले जानकारी दिए।

उनकाअनुसार अहिले गाउँपालिका केन्द्र खावाङसहित काँक्री, लावाङ, गावाङ, दवाङ, जङ्गाधारालगायतका ठाउँका मानिसहरु विद्युत् सेवाबाट बञ्चित हुनुपरेको छ। विद्युत् सेवा अवरुद्ध भएसँगै मोबाइल चार्ज गर्न, साँझ बिहान बत्ती बाल्न र अन्य विद्युतीय काम गर्न समस्या भएको स्थानीयवासीले बताएका छन्।

समितिले भने वर्षा कम भएपछि मात्रै आयोजना मर्मतको काम गर्ने जनाएको छ । अहिले पनि निरन्तर पहिरो झरिरहेकाले तत्कालै नहर मर्मतको काम सम्भव नभएको व्यवस्थापन समितिका सचिव बुढाले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *