कला जिउँदो राख्न ‘भर्चुअल’को साथ

डिसी नेपाल
१७ असोज २०७७ १७:५९

काठमाडौँ । गत वर्षको यहि समयमा नेपाली कला सिर्जनाका सङ्ग्रहालय (आर्ट ग्यलरीं) मा कला पारखी हुलका हुल पुग्थे । दैनिक जसो नै ग्यालरीमा कलात्मक सिर्जना प्रदर्शनी भइरहेका हुन्थे । माग अनुसार चित्रकारलाई कला सिर्जना गर्न भ्याइनभ्याइ हुन्थ्यो ।

कोभिड–१९ का कारण चैतदेखि त्यस्ता गतिविधि ठप्प भएसँगै सिर्जना भर्ने काम आफ्नै घर कुनामै सिमित हुन पुगे । कलाकारको आम्दानी त घट्यो नै । बनेका कला पनि कोठाचोटामै थन्किए ।

तर कलात्मक मन भएका कलाकारको औँलाले कुची छाड्न सकेन । एकान्तवासमा मनभित्र उकुसमुकुस भएका अनेक बान्की रङका उलारसँगै क्यानभासमा छरिरहे । सामाजिक दूरी र स्वास्थ्यका लागि अनेक परहेज उस्तै कडा रहे ।

बनेका कला भित्रै राख्नु भनेको कला मर्नु सरह हो । कसरी बाहिर लैजाने भन्ने चिन्ता बढेकै बेला सुन्दर विकल्प बनेर आयो ‘भर्चुअल’ अभ्यास । उही अभ्यासको पाइला समाउँदै कलात्मक यात्रा अघि बढ्यो । कलालाई जिउँदो नियमित गर्न बेलाबेलामा भर्चुअल प्रदर्शनी जारी छ । कतिपय कलाकारले बनेलगत्तै विक्रीका लागि समेत आफ्ना कला सिधै पारखीलाई भर्चुअल रुपमै देखाएर होम डेलिभरी दिने प्रयास पनि थाले ।

“इन्डोरको काम भइरहेको र सिर्जनालाई नियमितता दिन भर्चुअल प्रदर्शनी सहयोगी बनेको छ”, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्छन्, “भौतिक उपस्थिति हुनु पर्ने ललितकला क्षेत्रमा श्रव्यदृष्य प्रदर्शनी कामचलाउ रुपमा भए पनि जारी छ ।”

बन्दाबन्दीले अनलाइन चित्रकला प्रदर्शनीको नौलो अभ्यासको थालनी भएकाले विषम परिस्थितिमा यसले ललितकलाको प्रवद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले कला सिर्जनाको संसारलाई अँध्यारोमा धकेलिदिएको छ । कलाकारका देश विदेशमा हुने भ्रमण रोकिए । यसपाली राष्ट्रिय ललितकला प्रदर्शनी सञ्चालन हुन सकेन । अनलाइन प्रदर्शनी मात्रै गरियोे ।

अर्को महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय जल रङ महोत्सव पनि हुन सकेन । फेसबुकबाट जोडिएर शुरु भएको साप्ताहिक शनिबारीय ललितकला कार्यशाला पनि रोकियो । कलाकार स्थलगत रुपमा गएर गर्ने गतिविधि मात्रै रोकिएन आर्ट ग्यालरीहरु पनि खाली बन्न पुग्नु कलाकार र कलाक्षेत्रकै लागि ठूलो घाटा भएको कुलपति कर्माचार्यको भनाइ छ ।

प्रकृति, जीवन जगतसँगै सांस्कृतिक सम्पदा र ऐतिहासिक धरोहरलाई कला सिर्जनाले जीवन्त बनाउँछ । पुराना सम्पदा र दृश्य लोप भइसक्दा त्यसको जीवन्त इतिहास कला सिर्जनामै पाइन्छ । कला सिर्जना विश्वमै आफ्नो मौलिक पहिचान दिलाउने सशक्त माध्यम हो । तर घरभित्रै उनिएका सिर्जनाले भनेजति बजार पाउन नसक्दा कलाकार चिन्तित छन् । तर आफ्नो भरणपोषण जसोतसो भएपनि कला जिउँदो राख्न पाएकामा भने कलाकार दङ्ग छन् ।

नेपाल ललितकला परिषद्का संयोजक तथा कला लेखक देवेन्द्र थुम्केली भौतिक रुपमा ग्यालरीमा गएर हेर्ने स्वाद लिन नसके पनि भर्चुअल अभ्यास रस भर्न सहयोगी बनेको बताउछन् । उनका अनुसार कला क्षेत्रमा हुने आर्थिक प्रगति भने लगभग ठप्प छ । भर्चुअल प्रदर्शनीले कलाकारलाई एक अर्कामा जोड्न र सिर्जनालाई समुदायमा पु¥याउन सहयोग गरेको उनको अनुभव छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ भित्रभित्रै बसेर क्यान्भासमा सजाइएका तर फैलन नपाएका सिर्जनालाई कला पारखी माझ पु¥याउने प्रयास जारी रहेको बताउछन् । यसअघि उनकै प्रयासमा ‘भर्चुअल साउण्ड’ शीर्षकको अनलाइन प्रदर्शनी आयोजना गरेर १४ देशका सिर्जना प्रस्तुत गरिएको थियो ।

हालसालै प्रत्यक्ष कला सिर्जनाका लागि उनले ‘लाइभ आक्वारेलो’ शीर्षकमा कार्यशाला आयोजना गर्नुभयो । लकडाउनमा थलिएको नेपाली ललितकलालाई केही माथि उठाउने प्रयास कायमै रहने उनको भनाइ छ । “पहिले जस्तो भौतिक रुपमा देखाउने काम बन्द हुँदा कलाकारलाई ठूलो घाटा त भयो नै तर प्रविधिमा पारङ्गत हुने अवसर मिलेको छ, त्यो चाहिं फाइदा हो ।” एकातर्फ अनलाइनमार्फत पनि राम्रै काम हुँदो रहेछ भनेर केही कलाकार अभ्यासमा लागेका छन् भने अर्कातिर कतिपय कलाकार पेशाबाट पलायन हुने स्थितिमा पुगेको गुरुङको अनुभव छ ।

कोभिड–१९ को जोखिम रोक्न सरकारले चैत ११ देखि बन्दाबन्दी र साउन पहिलो हप्ता पछि निषेधाज्ञा घोषणा गरेको थियो । अझै पनि बढी भिडभाड हुने गतिविधि गर्न नपाइने आदेश कायमै छ । त्यसैले भौतिक उपस्थितिमा कला प्रदर्शनी नहुँदा चित्रकारका सिर्जना घरमै थन्किएका छन् । कुची र रङमा रमाउने कलाकारले बन्दाबन्दीका समयमा सिर्जनाका लागि अबसर त मिल्यो तर उचित मूल्य नपाउँदा प्रभावित हुन पुगे । कलाकारका तयारी सर्जना प्रत्यक्ष अवलोकन गरेर बुझ्ने र मनपरेमा खरिद विक्री हुन्छ ।

कोरोनाकालमा कलाकारले रङ्ग्याएका त्यस्ता क्यानभास कलापारखीसम्म नपुग्दा कोठामा खात लागेर बसेको छ । यसलाई भर्चुअल प्रदर्शनी गरेर सिर्जनाको महत्व झल्काउने काम भने कलाकारले छाडेका छैनन् ।

क्यानभासमा कोरोनाको जोखिम र रोकथामका सन्देश छरिएका छन् । कतिपय कलाकार रङको नौलो प्रस्तुति दिन अभ्यासरत छन् । फरक–फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका छन् । स्वदेश विदेशका दृश्यलाई समेटेर क्यानभास रङ्ग्याइरहेका चित्रकार कोरोनाकाल हटेर वातावरण सहज हुने प्रतीक्षामा छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.