शय्या नहुँदा सङ्क्रमित ज्यान गुमाउँदै

डिसी नेपाल
५ कार्तिक २०७७ १३:०४

धरान। धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो। यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान गयो।

बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो। उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो। राति ११ बजे अस्पताल पु-याउनेबित्तिकै उनको ज्यान गएको ९ नं वडाध्यक्ष रत्न कटवालले जानकारी दिए।

धरान २ का ८९ वर्षीय पुरुषको पनि गत सोमबार बिहान होम आइसोलेशनमै मृत्यु भयो। अस्पताल लान लाग्दा भेन्टिलेटर अभाव भएको भनिएपछि परिवारले घरमै राख्यो। एक साताअघि धरान–८ का ५२ वर्षीय पुरुष धरानस्थित बिपी प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए।

निमोनियाका कारण अस्पताल पुगेका उनलाई कोरोना सङ्क्रमण भयो। प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनको ज्यान गयो। धरानमा मात्र अस्पताल जान नपाई १३ जनाको होम आइसोलेशनमा मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। हालसम्म ३४ जनाले ज्यान गुमाएका छन्।

प्रतिष्ठानको तथ्याङ्कअनुसार मंगलबार बिहानसम्म ६६ संक्रमितले ज्यान गुमाएको प्रतिष्ठानका सहप्रवक्ता डा शाशिष श्रेष्ठले जानकारी दिए। प्रदेश नं १ मा सोमबार साँझसम्म मृतकको संख्या १३६ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ।

प्रदेश सरकारले गत जेठमै दुई हजार श्ययाको आइसोलेशन वार्ड बनाउने घोषणा गरे पनि अहिलेसम्म काम शुरु भएको छैन। प्रत्येक स्थानीय तहमा १५ शय्याको आइसोलेशनसहितको अस्पताल निर्माण गर्ने भनिए पनि कुनै स्थानीय तहले सञ्चालन गर्न सकेका छैनन्।

बिरामीको चाप भने अस्पतालमा थेग्न नसक्ने भएको छ। प्रतिष्ठानले बिरामीको चाप थेग्न नसक्ने भनी सम्पर्क गरेर मात्र ल्याउन अस्पताल प्रशासनले १५ दिनअघि सूचना नै जारी गरेको थियो। बिरामी धान्न नसकेको जनाई अस्पताल प्रशासनले स्थानीय तहहरुलाई लकडाउन गर्नसमेत सुझाव दिएको थियो।

पछिल्लो समय सङ्क्रमित चौगुना बढेका छन्। एक साताअघिदेखि धरानमा दैनिक संक्रमितको सङ्ख्या बढेर गएको छ। सोमबार ८९ र मंगलबार २०६ जनामा सङ्क्रमण पुष्टि भयो। पिसिआर परीक्षणको दायरा घटाइए पनि संक्रमितको दर भने बढेर गएको छ। दशैँका लागि किनमेल गर्नेले स्वास्थ्य मापदण्ड बेवास्ता गर्दै बजार–पसलमा भीड गरेकाले अझ भयावह अवस्था आउने चिकित्सक बताउँछन्।

अझै तीव्र रूपमा संक्रमितको संख्या बढ्ने जोखिम रहेको उनीहरुको भनाइ छ। संक्रमण वृद्धिअनुसार प्रदेश सरकार र स्थानीय तहहरुको तयारी भने नदेखिएको चिकित्सकको भनाइ छ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले लक्षणसहितका बिरामी बढ्दो क्रममा रहेको र मृत्यु संख्या बढेको बताए। प्रतिष्ठानका करीब तीन सय चिकित्सक, कर्मचारी र नर्स सङ्क्रमित भएका छन्।

‘अबको अवस्थामा धेरै संक्रमित भेन्टिलेटर नपाएर मृत्यु हुने सम्भावना बढेको छ। प्रतिष्ठानमा भेन्टिलेटरको आवश्यकता छ तर स्रोतसाधनको अभाव छ’, डा साहले भने। प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानमा १० भेन्टिलेटर राखिए पनि ६ वटाले जडान गर्दै काम नदिएर ठेकेदार कम्पनीलाई बनाउन फिर्ता गरिएको छ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पछिल्लो समय लक्षणसहितका संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेकाले आवश्यक व्यवस्थापन गर्न प्रदेश सरकार जुटिरहेको बताउँछन्।

स्विस दूतावाससँग कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक उपकरणलगायत सामग्री दिने सहमति गरिएको उनले जानकारी दिए। केही दिनमा १० आइसियु सेट आइपुग्ने उनको भनाइ छ।

निजी अस्पताललाई पनि कोरोना संक्रमितका लागि आइसोलेसनसँगै सघन उपचार कक्ष र भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन जारी गरिएको उनको भनाइ छ। उनले बिहीबार प्रतिष्ठान पुगेर कोभिड अस्पताल व्यवस्थित गर्न निर्देशनसमेत दिए।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा आठ आइसियु र पाँच भेन्टिलेटर, प्रतिष्ठान धरानमा १५ आइसियु र १० भेन्टिलेटर तथा झापाको मेची अस्पतालमा १० आइसियु र दुई भेन्टिलेटर छन्।

यस्तै निजीतर्फ विराटनगरस्थित नोबेल अस्पतालमा दश आइसियु र तीन भेन्टिलेटर, विराट् मेडिकलमा आठ आइसियु र दश भेन्टिलेटर तथा न्युरोमा आठ आइसियू र दुई भेन्टिलेटर छन्।

प्रदेशमा कुल ४६ आइसियु र ३२ भेन्टिलेटरको व्यवस्था भएको सामाजिक विकास मनत्रालयले जनाएको छ। प्रतिष्ठानमा रहेका १० मध्ये छ भेन्टिलेटर काममा आएका छैनन्।

प्रदेश नं १ मा ३३ ठाउँमा गरी एक हजार ५३१ आइसोलेशन वार्ड स्थापना गरिएको छ। सोमबार साँझसम्म सात हजार ८१३ जना संस्थागत आइसोलेशनमा र बाँकी संक्रमित होम आइसोलेशनमा बस्दै. आएका छन्।

सामाजिक विकास मनत्रालयको तथ्याङ्कअनुसार हालसम्म एक लाख ४७ हजार ९९४ जनमा पिसिआर परीक्षण गर्दा सङ्क्रमितको संख्या १३ हजार ९८८ पुगेको छ। हालसम्म ६ हजार ३९ जना निको भएर घर फर्केका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *