ओली र मेरो बीचमा मत भिन्नता छैन : माधवकुमार नेपाल

डिसी नेपाल
६ कार्तिक २०७५ १५:२५

घोराही । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताएका छन्।

नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पारे।

“हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भने, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो।”

नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताए।

नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेपालको कम्युनिष्टले प्राप्त गरेको जनताको मत विश्व इतिहासमा चर्चा र प्रशंसा हुने गरेको धारणा व्यक्त गरे।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनप्रतिनिधिले लिएको सुविधालाई ठूलो विषय नबनाउन आग्रह गरे। “हिजोको विकास समितिसँग अहिलेको सरकारको तुलना हुन सक्दैन”, उनले भने, “हिजोको गाविस सचिवभन्दा अहिले वडाअध्यक्षको कामको दायरा फराकिलो छ।”

नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादीको एकीकरणपछि औपचारिकरुपमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा जिल्लादेखि वडास्तरका जनप्रतिनिधिको सहभागिता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *