पशुपति आर्यघाट : जहाँ शव मात्रै हाेइन, सपना पनि जल्छन्

तर्कबहादुर थापा
२१ कार्तिक २०७७ ८:१९

काठमाडौं। मुख्य गेटबाट करिव ५ सय मिटरको दूरीमा एउटा शव राखिएको छ। अन्तिम दाहसंस्कारको लागि राखिएको उक्त शवमा करिव २ मिटर टाढाको दुरीबाट २ जनाले अन्तिम पटक फूलमाला अर्पण गरिरहेका छन्।

पुरै संसार नै आफ्नो काँधमा उठाउँला भन्ने जोश भएका युवा/युवतीहरु गेटबाहिरको सडक पेटीमा घोप्टो परेर रोइरहेका छन्। उपस्थित कसैको पनि आखाँको आशुलाई परेलीको बाँधले रोक्न सकेको थिएन।

बिहीबार साँझ साढे ५ बजेको दृष्य हो यो। पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह बाहिरको। विद्युतीय शवदाह गृहमा अन्तिम दाह संस्कारका लागि पुर्याइएको शवलाई गृहकै ढोकामा राखिएको थियो। करिव ५ सय मिटरको आगनीमा लगाइएको पर्खाल र सोही मुलगेटबाहिर आफन्तहरुले विलौना गरिरहेका थिए।

‘कोरोना पुष्टि भएपछि अहिलेसम्म एक पटक पनि स्पर्श गर्न पाएकी छैन,’ सीता शर्मा (नामपरिवर्तन)ले विलौना गर्दै थिइन्, ‘यो कस्तो खालको रोग आयो। आफ्नै घर परिवारका सदस्यहरुलाई समेत पराइ बनाई दिने। अन्तिम दाहासंस्कार जस्तो कार्यमा पनि सहभागी हुन नपाइने।’ सीताका आखाँबाट बगेका आशुँले सेतो पछ्यौरी भिजेको थियो। उनी एक पटक मात्र भए पनि शवलाई झम्टेर अंगालोमा हाल्दै रुन चाहन्छिन्। तर, पाएकी छैनन्।

विद्युतीय शवदाह गृहमा कोरोनाका संक्रमितको मात्र दाहसंस्कार भए पनि दाउराबाट शवदाह गर्ने घाटमा पनि सबै घाटहरुमा चिता जलिरहेको थियो। सरकारले लकडाउन सुरु गरेपछि इतिहासमै सबैभन्दा कम चिता जलेको पशुपति आर्यघाटमा पछिल्लो १ महिनामा जल्ने चिताको संख्या ह्वातै बढेको छ। घाट सेवाकेन्द्रका अनुसार पछिल्लो १ महिनामा पालो कुरेर दाहसंस्कार गर्नु परिरहेको छ

मानवीय समवेदनाको पराकाष्टा देख्न पाइन्छ यो दृश्यमा। तर, नेपाली सेनाले यही मानवीय समवेदनालाई ध्यानमा राखेर सामबारबाट करिव २ मिटरको दुरी कामय गरी नजिकैका आफन्त २/२ जनाको दरले शवमा अन्तिम पटक फूलमाला अर्पण गर्ने व्यवस्था गरेको रहेछ। ‘

ती दिनबाट यो व्यवस्था मिलाइएको हो,’ एक जना सैनिक अधिकारीले भने, ‘साबहरु आउनु भएको थियो। उहाँहरुले यहाँको कारुणीक दृष्य देखेर होला गएको सोमबारबाट अन्तिम पटक २/२ जनाको दरले २ मिटरको दूरी कायम गरी फूलमाला अर्पण गर्न पाउनु हुन्छ।’

‘पीडाको कुरा कसरी गर्नु हजुर’ सुरक्षार्थ खटिएका गार्डले भने, ‘उहाँ आमालाई नै हेर्नुहोस्, उहाँलाई कस्तो भा को होला। दिन प्रतिदिन यी तस्वीरहरु हेर्दा हेर्दै मुटु कठोर भएको छ। वाध्यता पनि छ। कतिदिन आफूले पनि उहाँहरुसँग आँशु पुछ्नु । भावनाहिन समवेदनाले आफैंलाई किन कमजोर पार्नु भनेर मन बाँधेरै बसिन्छ।’

कोरोनाका कारण सन्तान गुमाएका अविभावक र अविभावक गुमाएका सन्तानले ज्यूदैँमा नर्कको अनुभव गर्ने स्थान भएको छ, विद्युतीय शवदाह गृह। सेतो पीपीईाभित्र बेरिएको शवलाई टाढैबाट हेरेर आशुँ बगाउनुको कुनै विकल्प नै छैन। शवलाई स्पर्श गर्ने आफन्तको सपनामात्र हैन, आफन्तका हातबाट एकपटकलाई भएपनि स्पर्श पाउने शवको अपेक्षा पनि पूरा हुन दिएको छैन कोरोनाले।

‘मसँग कात्तिक १ गतेदेखिको रेकर्ड मात्र छ,’ दाहसंस्कारका लागि ल्याइएका शवहरुको विवरण राख्दै गरेका नेपाली सेनाका अर्का अधिकारीले भने, ‘यो १८ दिनसम्म ६ सय ५० जनाको दाहसंस्कार भएको छ।’

नेपाली सेनाको उक्त रेकर्ड अनुसार औषतमा प्रतिदिन ३३ जनाको कोरोनाका कारण मृत्यु हुने गरेको पाइन्छ। काठमाडौं भित्र, त्यो पनि कोरोना पुष्टि भएका व्यक्तिहरुको मात्र दाहसंस्कार पशुपति आर्यघाटको शवदाह गृहमा हुने उनको भनाइ छ।

विद्युतीय शवदाह गृहमा कोरोनाका संक्रमितको मात्र दाहसंस्कार भए पनि दाउराबाट शवदाह गर्ने घाटमा पनि सबै घाटहरुमा चिता जलिरहेको थियो। सरकारले लकडाउन सुरु गरेपछि इतिहासमै सबैभन्दा कम चिता जलेको पशुपति आर्यघाटमा पछिल्लो १ महिनामा जल्ने चिताको संख्या ह्वातै बढेको छ। घाट सेवाकेन्द्रका अनुसार पछिल्लो १ महिनामा पालो कुरेर दाहसंस्कार गर्नु परिरहेको छ।

लकडाउनका बेला पशुपतिमा दाहसंस्कारका लागि ल्याइने शवहरु घटेसँगै विभिन्न टिका टिप्पणीहरु सुरु भएका थिए। नेपालका अस्पतालहरु प्रयोशाला जस्तै भएकोले अस्पतालहरु बन्द हुँदा पशुपतिमा दाहसंस्कार हुने शव घटेको धेरैले आंकलन गरे। तर, पछिल्लो समय घाटमा ल्याइने शवहरुको संख्या बढेपछि पुनः अनेक आंकलन हुन थालेका छन्।

कोरोनाको उपचारबाट सरकारले हात झिक्दा पशुपति आर्यघाटमा जल्ने शवको संख्या बढ्नु संयोगमात्र नभएको घाटमै उपस्थित १ जनाको तर्क छ। उनले भने, ‘सरकारले कोरोनाको उपचार गर्दैन भनेपछि पशुपति आर्यघाटमा जल्ने चिताको संख्या बढ्नुलाई तपाईँ संयोग नठान्नुहोस्। मान्छेहरु सरकारले निशुल्क उपचार नगर्ने भएपछि घरमै बसे। पुष्टिको आधार त छैन तर, यहाँ आउने उमेर समूह र दैनिक संख्यालाई तुलना गर्दा प्रभाव कोरोनाको पनि छ झै लाग्छ।’

घाट सेवाकेन्द्रका अनुसार नियमित दाहसंस्कारका लागि बनाइएका १२ वटा घाट छन्। बागमतीको पुल दक्षिण १० वटा र उत्तरका २ वटा गरी सबै घाटहरुमा दिनमा कम्तिमा ३ वटा शव जल्ने गरेका छन्। अर्थात करिव १ महिनामा औषतमा दैनिक ३० देखि ३६ शवहरु पशुपति आर्यघाटमा जल्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *