अमेरिकी सेनाको बेसक्याम्पमा रोबोट कुकुरले गस्ती गर्ने
काठमाडौं। अमेरिकाको फ्लोरिडाको पनामा सिटीस्थित टिन्डल एयरफोर्स बेसमा अब रोबोट कुकुरले गस्ती गर्ने भएका छन् । सुरक्षा र सर्भिलान्स गस्तीलाई अझै राम्रो बनाउन हालै विकास गरिएका केनाइनएस रोबोट कुकुरहरु परिचालन गर्न लागिएको डब्लुएमबीबी टेलिभिजनको सोमबारको रिपोर्टलाई उद्धृत गर्दै न्यूयोर्क पोस्टले लेखेको छ ।
बेसक्याम्पको सुरक्षा हेर्ने जिम्मेवारी दिन लागिएको यो सुरक्षाबलको ३२५ औं स्क्वाड्रनका रोबोटो कुकुरहरु वाटरप्रुफ रहेको बताइर्एको छ । चारखुट्टे र मानवरहित यी गस्ती ड्रोनहरुमा दुई पक्षीय संवादको क्षमता भएको र उच्च प्रविधिको सेन्सर जडान गरिएको छ । यी रोबोटिक कुकुर एउटालाई बनाउन करिब १ लाख डलर लागत परेको रिपोर्टमा जनाइएको छ ।
स्क्वाड्रनका कमाण्डर मेजर जोर्डन क्रिसले भने ‘इन्टेलिजेन्स सुरक्षाको लागि यो एउटा उत्कृष्ट छलाङ हो ।’ यो केवल पहिलो चरण भएको बताउँदै मेजर क्रिसले यसबाट आफूहरु निकै उत्साहित रहेको समेत बताए । फेब्रुअरी २०२१ सम्म बेसको सुरक्षाको जिम्मेवारी पाएको स्क्वाड्रनसँग ४ रोबोट कुकुरहरुले पनि बेसको वरिपरि गस्ती गर्ने अपेक्षा गरिएको छ ।
यी रोबोट कुकुरले ७ घण्टासम्म काम गर्न सक्छन् त्यसपछि उनीहरु आफैं चार्जिङ स्टेशनमा जान्छन् । यी रोबोटलाई आफैं गस्ती गर्ने अटोमेटिक प्रणालीमा राख्न पनि सकिन्छ र मानिसले संचालन गर्न पनि सकिन्छ । ‘उनीहरु त्यहाँ कसैलाई क्षति पुर्याउनको लागि हुने छैनन्, उनीहरुको माध्यमले हाम्रा सुरक्षाकर्मीहरुले थप आँखा र कान पाउनेछन्’ क्रिसले भने ।







डिसी नेपाल








Facebook Comment