ग्राहकले चलाइरहेका मोवाइल फोन स्लो गराइदिने कम्पनीलाई साढे १३ अर्ब रुपैयाँ जरिवाना
काठमाडौं। अमेरिकी कम्पनी एप्पलले ग्राहकले प्रयोग गरिरहेका आइफोन स्लो बनाइदिएको मुद्दामा ११३ मिलियन डलर (साढे १३ अर्ब रुपैयाँ) जरिवाना तिर्ने भएको छ । बीबीसीका अनुसार एप्पलले ब्याट्रीगेट मामिलामा सेटलमेन्टको लागि यो रकम दिने घोषणा गरेको हो । अमेरिकाका ३४ राज्यहरुले संयुक्त रुपमा एप्पलमाथि अनुसन्धान गरिरहेका थिए । यसअघि पनि एप्पलले यस्तै मुद्दामा ५ सय मिलियन डलर जरिवाना तिरिसकेको छ । अहिलेको जरिवानासँगै एप्पलले आफ्ना ग्राहकले चलाइरहेका आइफोन स्लो बनाइदिएको अभियोगमा ६१३ मिलियन डलर (झण्डै ७३ अर्ब रुपैयाँ) जरिवाना तिर्नुपरेको छ ।
के हो ब्याट्रीगेट मामिला ?
स्मार्टफोनमा अपरेटिङ सिस्टमसँगै विभिन्न किसिमका सफ्टवेयर हुन्छन् र कम्पनीले बेलाबेला यसका अपडेट जारी गर्छन् । एप्पलले पनि २०१७ मा आइफोनको लागि अपडेट जारी गरेको थियो । तर यो अपडेटले त्यतिबेला चलनचल्तीमा रहेका आइफोनहरु स्लो भए । कम्पनीले अपडेट जारी गर्नुभन्दा पहिले यसबारे कुनै जानकारी दिएको थिएन । कम्पनीको अपडेटले फोन स्लो भएपछि एप्पलले पुरानो ब्याट्रीले फोन आफैं अफ नहोउन् र फोनमा अन्य समस्या नआउन् भनेर स्लो गरिएको तर्क दियो ।
एप्पलको यो तर्क ग्राहकलाई मन परेन र अमेरिकाका ३४ राज्यले एप्पलविरुद्ध अनुसन्धान सुरु गर्दै अदालत पुगे । अमेरिकाका यी राज्यहरुले अदालत जाँदा एप्पलले पुराना आइफोन स्लो गराइदिएर ग्राहकलाई नयाँ र महंगा मोडलका आइफोन किन्न बाध्य पारेको दावीसहित गएका थिए । अदालतले अमेरिकी राज्यहरुको यो दावीलाई स्वीकार गरेर एप्पललाई यो अपडेटबाट प्रभावित भएका सबै ग्राहलाई २५–२५ डलर क्षतिपूर्ति दिन आदेश दियो । यो अपडेटले एप्पलका आइफोन ६, आइफोन ६ एस, आइफोन ६ प्लस, आइफोन ७, आइफोन ७ प्लस र आइफोन एसइ प्रभावित भएका थिए । यी मोडलका सबै प्रयोगकर्तालाई क्षतिपूर्ति दिँदा एप्पलले यति ठूलो रकम क्षतिपूर्ति दिनुपरेको हो ।







डिसी नेपाल








Facebook Comment