चीनले भन्योः विरोधी देशहरुको आँखा निकालिन्छ
बेइजिङ (एजेन्सी)। अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाले हङकङमा चीनले आफ्ना आलोचकहरुको मुख बन्द गर्ने प्रयास गरेको आरोप लगाएका छन्। यी पाँच मुलुकले चीनमाथि हङकङकमा निर्वाचित सांसदहरुलाई अयोग्य ठहर्याउन नयाँ नियम बनाएको आरोप लगाएका छन्।
पश्चिमी देशहरुको यो आरोपपछि चीनले तिखो प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनको आन्तरिक मामिलामा दखल नदिन चेतावनी दिँदै भनेका छन्, ‘उनीहरु –पाँच पश्चिमी मुलुक) सावधान रहुन्, नत्र उनीहरुको आँखा निकालिने छ। फरक पर्दैन, पाँच हुन् कि दश।’
प्रवक्ता झाओ लिजिआनले भने, ‘चिनियाँ मानिसहरु न तनाव दिन्छन्, न कसैसँग डराउँछन्।’ गएको हप्ता चीनले एक प्रस्ताव पारित गरेको थियो, जसअनुसार हङकङको सरकारले राष्ट्रिय सुरक्षामा खतरा भए ती सांसदहरुलाई बर्खास्त गर्न सकिने व्यवस्था गरिएको छ। यसपद्धि हङकङले चारजना लोकतन्त्र समर्थक सांसदहरुलाई बर्खास्त गरिदिएको थियो।
यसको जवाफमा हङकङका सबै लोकतन्त्र समर्थक सांसदहरुले सामुहिक राजीनामाको घोषणा गरे। १९९७ पछि जबदेखि बेलायतले हङकङलाई चीनलाई फिर्ता गरेको छ, त्यसयता पहिलो पटक संसदमा कुनै विरोधी छैनन्।
पश्चिमा मुलुकहरुले चारजना सांसदहरुलाई बर्खास्त गर्नुलाई हङकङको स्वतन्त्रता सीमित गर्न खोजिएको रुपमा बुझेका छन्। तर, चीनले यी आरोपहरु खारेज गर्दै आएको छ। यी पाँच देशका विदेशमन्त्रीहरुले चीनसँग ती सांसदहरुलाई फेरि बहाल गर्न अपील गरेका थिए। उनीहरुले सांसदहरुको बर्खास्तीले हङकङको स्वायत्तता र स्वतन्त्रता रक्षा गर्ने चिनियाँ कानून र प्रतिवद्धताको उल्लंघन हुने बताएका थिए।
यी पाँच देशको समूहलाई ‘फाइभ आइज’ पनि भनिन्छ, जसको आपसमा खुफिया जानकारी आदानप्रदान गर्ने सम्झौता छ। यसको गठन शीतयुद्धका क्रममा भएको थियो, जसले शुरुमा सोभियत संघ र उसका सहयोगी देशहरुमाथि निगरानी राख्थ्यो।
यसअघि पनि हङकङबारे बोल्दै चिनियाँ विदेशमन्त्रालयले चीनलाई धम्की दिने अन्य देशहरुको प्रयास असफल हुने बताएको थियो। हङकङ एक देश दुई प्रणालीको सिद्धान्तअनुसार चलिरहेको छ।







डिसी नेपाल








Facebook Comment