साउदीमा १५ महिनादेखि ४ नेपाली युवा अलपत्र

डिसी नेपाल
५ मंसिर २०७७ २०:१४

काठमाडौं। रोजगारीको लागि साउदी अरव पुगेका ४ जना नेपाली युवा अलपत्र परेका छन्। साउदी अरवको कवाबल कन्ट्याकटिङ कम्पनीमा कार्यरत सुनसरीका खुर्सिद अन्सारी, अर्जुन थापामगर, जनकपुरका इस्रायल अन्सारी र संखुवासभाका रुद्रबहादुर श्रेष्ठ अलपत्र परेका हुन्।

उनीहरु चारै जना ५ वर्षअघि साउदी पुगेका थिए। आफूहरु विगत १५ महिनादेखि अलपत्र परेको उनीहरुको गूनासो छ। पीडित अर्जुन थापामगरका अनुसार उनीहरुको भिसाको म्याद सकिएको छ। कम्पनीले तलब नदिएको पनि डेढ वर्ष पुगेको छ। ‘तलब नपाएको पनि १५ महिनाभन्दा बढी भइसक्यो। अकामा (साउदी आवासीय अनुमति पत्र) को म्याद सकिएको पनि अहिले २ वर्ष चलिरहेको छ,’ मगरले भने।

कवाबल कन्ट्याकटिङ कम्पनीका सञ्चालक पाकिस्तानी नागरिक हुन्। साउदीमा मुदिर (मालिक) विदेशी भएपनि कपिल (स्पोन्सर) भने स्थानीय नागरिक हुनुपर्दछ। थापाका अनुसार डेढ वर्षअघिसम्म कम्पनी राम्रै चलेको थियो। उनीहरुले तलब पनि समयमै पाउँदथ्ये। पछि मालिकले स्पोन्सरलाई छलेर अनाधिकृत रुपमा अर्को कम्पनी पनि सञ्चालन गर्न थाले। यो सबै थाहा पाएपछि स्पोन्सर उक्त कम्पनीबाट अलग भएका थिए। पुरानो स्पोन्सर बाहिरिएसँगै आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ।

अहिले मालिकले कमिशन दिएर नयाँ स्पोन्सर राखेको छ। स्पोन्सरले कमिशन खाएर मालिकै इशारामा चल्दा आफूहरु समस्यामा परेको उनीहरुले गूनासो गरे।

लामोसमय वितिसक्दा पनि तलब नदिएपछि ४० जना कामदारले ११ महिनाअघि लेवर कोर्ट (श्रम अदालत) मा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए। अदालतले कम्पनी व्यवस्थापक र पीडित पक्षबीच सहमती गराएको थियो। अदालतमा कम्पनी पक्षले रोकिएको तलब केहीदिन भित्रै उपलब्ध गराउने र भिसा पनि नविरकण गराइदिने प्रतिबद्धता गरेको थियो। ‘अदालतमा भएको छलफलमा कम्पनीले तलब केहिदिनमै दिने बताएपछि हामिलाई वकीलले सोधेका थिए, ‘अब तिमिहरु सहमती गर्छौ कि मुद्दा अगाडि बढाउँछौ ? भनेर। समस्या समाधान हुने भएपछि हामीले पनि मुद्दा अघि नबढाउने निणर्य गर्यौँ। तर, पछि केही पनि दिइएन,’ थापाले सुनाए।

करार अवधि सकिएपछि उनीहरु स्वदेश फर्किन चाहेका थिए। आफूहरुले घर फर्किनका लागि पटक–पटक अनुरोध गर्दा पनि कम्पनीले फिर्ता नपठाएको उनीहरुको भनाइ छ। अदालतमा भएको छलफलमा पनि कम्पनीले फर्किन चाहानेहरुलाई फर्काइदिने बताएको थियो। कम्पनीकै कारणले आफूहरू अवैधानिक भएको उनीहरुको गुनासो छ।

अहिले कम्पनीले उपलब्ध गराउँदै आएको आवास पनि छोड्न दवाब दिएको र पानी तथा विद्युतको लाइन समेत काटिदिएको उनीहरुले बताए। कम्पनीको मुख्य गेटमै तालावन्दी गरेपछि विद्युतको लाइन भने पुनः सूचारु गराइएको छ। काम गर्नका लागि भिसा पनि नवीकरण नगराइदिने, यसअघि काम गरेको तलब पनि नदिने र घर फर्किने व्यवस्था पनि नगरिदिँदा आफूहरु विच्चलीमा परेको उनीहरुले बताएका छन्। अहिले खाना बस्न समेत समस्या भइरहेको उनीहरुको भनाइ छ।

आफूहरुको समस्याबारे रियादस्थित नेपाली दूतावास जानकार रहेको उनीहरुले बताए। दूतावासमा पुगेर लेवर कोटमा गरेको उजुरीको प्रमाणसहित समस्या बताउँदा पनि अहिलेसम्म केही सुनुवाइ नभएको उनीहरुको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *