कौसी खेती गर्ने महिला पुरस्कृत

डिसी नेपाल
५ मंसिर २०७७ २२:५६

ललितपुर । वाग्मती प्रदेशभित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्य तथा हलोखबर डटकमको आयोजनामा भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् ।

विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहेकी स्वयम्भू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कारस्वरुप पाएकी छन् ।

भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी उत्पादन गर्दै आइरहेको भगवतीको भनाइ थियो । “घरको कौसीमा तरकारी उत्पादन गर्दा सम्मान पाउछु भन्ने सोचेको थिइन”, उनले भनिन् ।

यसैगरी सात वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएकी ग्वार्को वडा नं १ सुगमटोल निवासी कोपिला खनाल पनि रु १६ हजार ८५० बराबरको सो खेतीका लागि आवश्यक सामग्रीबाट पुरस्कृत भइन् ।

पसल गएर दैनिक तरकारी किन्नुभन्दा छतमा उक्लेर तरकारी टिप्नु उचित महसुस गरेर सो उत्पादनलाई बढावा दिँदै आइरहेको कोपिलाले सुनाइन् ।

एकवर्षदेखि सो खेतीलाई बढावा दिँदै आइरहेकी गोठाटार निवासी पवित्रा भण्डारीसमेत रु २५ हजार ३५० बराबरको सो खेतीका लागि चाहिने सामानबाट पुरस्कृत भइन् । आफूले उत्पादन गरेका तरकारी समयमै खाइनसकेर केही दिनअघि छिमेक तथा साथीभाइलाई निःशुल्क वितरण गरिएको पवित्राले बताइन् ।

कार्यक्रममा वाग्मती प्रदेश, सहकारीमन्त्री दावादोर्जे लामाले कौसी खेतीले जैविक उत्पादनमा जोड पुर्याउनाका साथै स्वस्थ्य जीवनयापन गर्न पनि सहयोग गर्ने चर्चा गरे ।

सो मन्त्रालयका सचिव डा मतिना वैद्यले गत वर्ष प्रदेश सरकारले उक्त खेती प्रवद्र्धनका लागि काठमाडौँका ८२५ र चितवनका सय घरलाई ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको बताउँदै कृषि पेशा मानिसको जीवनको मूल उद्देश्यसमेत रहेको औँल्याइन् ।

हलोखबर डटकमका सम्पादक मनोज श्रेष्ठले वाग्मतीका १२० कौसी किसानमध्ये उत्कृष्ट सातलाई सम्मान गरिएको बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *