पेन्सन लिन जानका लागि पाँचदिन झुलाघाट नाका खोलिने
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ। नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो।
यही मङ्सिर ८ गते सोमबारदेखि १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उनले भने, “ नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौँ।”
जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको हो। कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि पेन्सन बुझ्न पाएका छैनन् । यसअघि पनि तीन दिनका लागि नाका खोलिएको भए पनि सबैले पेन्सन बुझ्न पाएका थिएनन्।
नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकालेसमेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। उनले भने, “खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामको लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ।”
जिल्लामा एक हजार २०० बढी भारतीय पेन्सनधारी नागरिक रहेका बताइएको छ । नाकामा पेन्सनधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने प्रशासनले जनाएको छ । पेन्सनधारी नागरिकले दुई महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोलिन लागिएको हो । उनीहरुले पेन्सनबापतको पैसा भारतीय बैंकमार्फत् बुझ्ने गरेका छन्।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment