११ गते काठमाडौं आउने भारतीय विदेश सचिवको के-के छ कार्यक्रम ?

डिसी नेपाल
८ मंसिर २०७७ १६:५७

काठमाडौं। लामो कूटनीतिक मौनतालाई तोड्दै भारतीय विदेश मन्त्रालयका सचिव हर्ष वद्र्धन श्रृंगला यही मंसिर ११ गते काठमाडौं ओर्लिँदै छन्। नक्सा विवादका कारण गत वर्षदेखि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको थियो।

नक्सा विवादपछि पहिलो पटक भारतीय कूटनीतिज्ञको औपचारिक नेपाल भ्रमण हुन लागेको हो। भारतले नेपाली लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गर्दै वार्ताका लागि पहल गरेको थियो। तर, भारतले वार्तामा बस्ने कुनै चासो देखिाएन उल्टै नेपाली भूमि हुँदै चीनको सीमा जोड्ने मोटर बाटो उद्घाटन गर्यो। त्यसपछि नेपालले पनि नयाँ नक्सामा भारतले कब्जा गरेका ती भूमिलाई आफ्नो नक्सामा समावेस गर्दै संविधानसमेत संशोधन गरेपछि नेपाल र भारतबीच सम्बन्ध ऐतिहासिक रुपममै तल्लो स्तरमा पुगेको थियो।

यसपछि कूटनीतिक मौनता साँधेको भारतले सम्बन्धलाई फेरि ट्र्याकमा ल्याउन सकरात्मक पहल थालेको हो। यही पहलअनुसार भारतीय विदेश सचिव श्रृंगलाले नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन्। यसअघि रअ प्रमुख सामान्त कुमार गोयल र भारतीय सेनाप्रमुख जनरल मनोजमुकुन्द नरवणेले हालै नेपालको भ्रमण गरेका थिए। यी दुई सुरक्षा अधिकारीको भ्रमणपछि भारतीय विदेश सचिव नेपाल आउन लागेका हुन्।

परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव श्रृंगला नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउन लागेका हुन्। दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ।

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले सोमबार अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। विदेश सचिव श्रृंगला मंसिर १२ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

सचिवस्तरीय बैठकपछि विदेशमन्त्री स्तरीय बैठकको तयारी हुने परराष्ट्र स्रोतले जनाएको छ। विदेशमन्त्री स्तरीय बैठक आगामी डिसेम्बरमा नयाँ दिल्लीमा आयोजना हुने सम्भावना रहेको छ। त्यसका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली जाने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *