मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो।
यसअघि सामान्य फोन गर्नका लागि समेत स्थानीयवासी करिब एक घण्टा उकालो हिँडेर डाँडामा पुग्नुपर्ने बाध्यता थियो। आफन्तसँग सम्पर्क गर्न, अत्यावश्यक सूचना आदान–प्रदान गर्न तथा अनलाइन सेवा लिन ठूलो सास्ती व्यहोर्दै आएका स्थानीयका लागि फोरजी टावर सञ्चालनसँगै सो कठिनाइ अन्त्य भएको स्थानीय राजेश बढुवालले बताए।
टावर सञ्चालनमा आएसँगै अब बाम गाउँ प्रत्यक्ष रूपमा विश्वसँग जोडिने भएको छ। उच्च गतिको इन्टरनेट सेवा उपलब्ध भएसँगै स्थानीय विद्यार्थीहरूलाई अनलाइन अध्ययन गर्न, सर्वसाधारणलाई सरकारी तथा डिजिटल सेवा लिन र पर्यटन, व्यवसाय एवं आपतकालीन अवस्थामा सञ्चार गर्न सहज हुनेछ।
दुर्गम बस्तीका नागरिकका लागि यो सेवा विस्तार विकासको एक महत्वपूर्ण खुड्किलो साबित भएको नेपाल टेलिकमका प्राबिधिक प्रेम बहादुर रोकायाले बताए।
यस ऐतिहासिक उपलब्धिका लागि निरन्तर पहल, समन्वय र सहयोग गर्ने अनिल बानियाँ, नेपाल टेलिकमको प्राविधिक टोली, जनप्रतिनिधि तथा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति गाउँलेले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेका छन्।
सञ्चार सेवा पुगेसँगै बाम गाउँ अब अन्धकार र एक्लोपनबाट विश्वसँगको सीधा सम्पर्कतर्फ अघि बढेको स्थानीयको भनाइ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment