कतारबाट रोजगारीको कुनै माग आएको छैन, कानुन हातमा लिनेलाई कारवाही हुन्छ : मन्त्री यादव (अन्तर्वार्ता)

डिसी नेपाल
१३ मंसिर २०७७ ७:५१

कतार प्रहरीमा रोजगारीमा पठाउने भन्दै केही म्यानपावरले युवाहरबाट मोटो रहक असुलेर धमाधम अन्तर्वार्ता लिएको सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले केही म्यानपावरमा छापामा मारेको छ। कतारबाट कुनै पनि रोजगारीको माग नआएको भन्दै सरकारले झुटा आश्वासनमा नपर्न आग्रह पनि गरेको छ। यसै विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसँग डिसी नेपालका खेमराज थापाले गरेको कुराकानीको संपादित अंश :

कतार प्रहरीमा नेपाली युवाहरु लैजाने भनेर केही मेनपावरहरुले धमाधम अन्तर्वार्ता लिएको बिषयमा यहाँलाई के के जानकारी छ ?

नेपाल सरकारको जानकारीमा यस्ता कुनैपनि डिमान्डहरु आएको छैन। कतारबाट पनि आएको छैन, कहीँबाट पनि आएको छैन। मन्त्रालयको स्वीकृति बिना नै धमाधम अन्तर्वार्ता भइरहेको समाचारहरु बाहिर आउन थालेपछि हाम्रो मन्त्रालय अन्तर्गतका विभागहरुले सक्रियता देखाउन थाले र हामीले कहाँकहाँ अन्तर्वार्ता हुँदैछ भनेर पत्ता लगाउँदै छापा मार्न लगायौँ । छापा मार्दाखेरी त्यो कुरा यथार्थ निस्कियो ।

अहिलेको परिस्थिति कस्तो दुःखद छ भने, कोरोनाको कारणले धेरै नेपालीहरुले ज्यान गुमाउनु पर्याे, धेरैले जागिर गुमाउनु प-याे। हरेक श्रमिकहरु कोरोनाका कारण प्रताडित छन्। यस्तो समयमा श्रमिक दाजुभाइ दिदीबहिनीहरु कहीँ कतै रोजगारी पाइहालिन्छ कि भनेर बसिरहेको अवस्थामा गैरकानुनी ढंगले कानुनलाई पकेटमा लिएर आम नागरिकलाई राज्य विहीनताको अनुभव गराउने जुन दुस्प्रयास भइरहेको छ त्यसलाई हामीले चुनौतीका रुपमा लिएका छौँ।

एउटा सामान्य ब्यावसायीले सरकारका कानुनलाई वास्ता नगरिकनै हजारौँ युवाहरुलाई जम्मा गर्दासम्म तपाईँहरुलाई सुचना किन भएन र उनीहरुलाई हिम्मत आयो कसरी ? कहीँ तपाईँहरुको अदृष्य सेटिङको सम्भावना छ?

त्यो संभव छैन। यसबारे श्रम मन्त्रालयबारे भ्रम पालेर बसेकाहरुलाई मेरो खुल्ला चुनौती छ । कानुनलाई मिचेर कसैले गलत गर्न खोजेको छ भने त्यसलाई हामीले कसनै पनि हालतमा स्वीकार गर्दैनौँ । नेपाल सरकार यो विषयमा सचेत छ, उनीहरुले ब्यक्ति ब्यक्तिबीचको कुराकानीमा अन्तर्वार्ता लियो होला हामीले थाहा पाउने बित्तिकै छापा मारेका छौँ ।

छापा मार्न बल्ल सुरू गर्नु भएकाे छ, तर संसदीय समितिले यस सम्बन्धमा छानमिन गर्न त पहिले नै निर्देशन दिएको हो नि ?

कतारमा सिन्डिकेटको कुराहरु आइराखेको कुराहरु त मिडियामा आयो नि। मेरै नाम जोडेर पनि आयो। अन्य पात्रहरुको जाम जोडेर पनि आयो। १७ वटा म्यानपावरको नामै प्रकाशित भयो। तर त्यो सिन्डिकेट हुँदै होइन। मिडियामा आइसकेपछि त्यसको बारेमा संसदीय समितिले मन्त्रालयलाई निर्देशन गरेको छ ।

समितिको निर्देशनलाई मानेरै हामीले महानिर्देशको संयोजकत्वमा एउटा छानविन समिति पनि बनाएका छौँ । त्यो छानमिन समितिले अनुसन्धान गर्दागर्दै यी कुराहरु बाहिर आयो। र, बाहिर आएपछि हामीले छापा मारेको हो।

छानविन समितिले छानविन गरिसकेको हो?

सकिएको छैन। उहाँहरु अनुसन्धानकै क्रममा हुनुहुन्छ । बीचमा छापा मारिएको कारणले उहाँहरुले प्रतिवेदन दिन पाउनुभएको छैन। त्यसले गर्दा हामीले समितिलाई म्याद थप्न अनुरोध गरेका छौँ।

कतारमा ५०० जनालाई रोजगारी दिने र त्यहाँ ५ लाखदेखि ६ लाखसम्म कमाउने प्रलोभन देखाएर एक जनाबाट ७ देखि १५ लाखसम्म लिएको सार्वजनिक भउको छ, जबकी नेपाल सरकारको कानुनमा खाडी लगायतका मुलुकहरुमा एक रुपैयाँ पनि लागत लाग्दैन, यसलाई हेर्दा त ठगी हुने देखियो नि !

यो तपाईँले शंका गर्नु, मैले पनि शंका गर्नु एकदमै उचित कुरा हो। किनभने, खाडी मुलुकामा हामी एक रुपैयाँ पनि लागत नलिई पठाउछौँ । यस्तो अवस्थामा ५ लाख र १० लाखको प्रलोभन देखाएर मोटो रकम उठाएको हामी पनि मिडियामा देखिरहेका छौँ । तर त्यसको यथार्थता के हो अनुसन्धान गर्नलाई मैले मेरो मातहतका कर्मचारीलाई निर्देशन दिएको छु । अनुसन्धानमा दोषी हुनेलाई कडा भन्दा कडा कारबाही गछौँ ।

बैदेशिक रोजगार व्यवसायी र मन्त्रालयको द्वन्द्व देखिएपनि यो कतारको बिषयमा बैदेशिक रोजगार व्यवसायी संघको निरन्तरको विज्ञिप्ती हेर्दा सहयोग गरेको जस्तो देखिन्छ , कतैबाट त्यस्तो कुनै दबाब वा फोन आएको छ ?

छैन, छैन। त्यस्तो कहीँबाट मलाइ दबाव छैन र त्यो सम्भव पनि छैन ।

त्यसो भए अब बढी पैसा असुल्ने व्यावसायी जेल जाने अवस्था आउँछ ?

अनुसन्धान गर्दै जाँदा कानुनको उल्लंघन गरेको छ भने सजाय पाउँछ ।

कोरोना महामारी र लकडाउनले सिर्जना गरेको जुन बेरोजगारीको अवस्था छ, सरकारललाई एउटा अवसर सिर्जना भयो कि युवाहरुलाई देशमै रोजगारीमा लगाउने , त्यसका लागि मन्त्रालयका रणनीति केके छन् ?

त्यसको लागि हाम्रो मन्त्रालय मात्र हैन नेपाल सरकार नै चिन्तित छ। सरकारले त्यसका लागि पूर्वाधार बनाइदिने हो, श्रम मन्त्रालयले आफैँ रोजगार दिने होइन। रोजगारका अवसरहरु सिर्जना गरिदिने हो। श्रम मन्त्रालयले त्यसका लागि अधिकतम सक्रियता देखाएर प्रधानमन्त्री रोजगार कार्यक्रम जुन छ, त्यसमा तदारुकताका साथ अगाडि बडेको छ। त्यसका अलावा हामीले प्राइवेट सेक्टरमा पनि रोजगार सिर्जका लागि अगाडि बढेका छौँ।

कोरोना महामारी सुरु हुनेबित्तिकै लाखौँ नेपाली कामदारहरु भारतबाट आएका थिए। लकडाउन खुल्ने बित्तिकै उनीहरु भारत नै फर्किए, कोरोना महामारीबीच चाडवाडको मुखमा रोजगारीका लागि पराई मुलुक जानुपर्ने कुराले सरकारले रोजगारीको कुनै रणनीति बनाउन सकेन, उनीहरुलाई देशमै गरी खाने वातावरण बनाउन सकेन भन्न सकिँदैन ?

हामी नेपालमै रोक्ने वातवरण बनाउँदै छौँ, नेपालकै बिभिन्न सेक्टरमा रोजगारका अवसरहरु कसरी बढाउने, त्यसका लागि हामी प्रशस्त वातावरण बनाइरहेका छौँ। खासगरी कृषि क्षेत्रमा कृषि आधनीकिकरण गरेर युवा बेरोजगारहरुलाई धेरै भन्दा धेरै वैज्ञानिक तबरले खेती गर्ने र त्यका लागि ऋण सहयोग गर्ने योजना ल्याइराखेछौँ ।

कोरोना महामारी पनि एक्कासी आएको हुनाले यसलाई हामीसँग कनै योजना थिएन। हामी कोरोनाले गर्दा दोहोरो मार पर्यौं। एकातिर देशमै बेरोजगारको स्थिति थपियो भने, प्रवासमा भएका दाजुभाइहरु पनि समस्यामा परेर आएपछि झन ठूलो समस्या आइपर्यो। हाम्रो भूराजनीतिक अवस्था हामीले स्वीकार गर्नुपर्छ, हाम्रो आर्थिक अवस्था हामीले स्विकार गरेरै अगाडि बढ्नुपर्छ ।

हामीकहाँ ठूलाठूला उद्योगहरुको अभाव छ। नयाँ खोल्न सक्ने स्थितिमा पनि छैन। हामी आश्रित छौँ । यस्तो अवस्थामा कृषिलाई एकैचोटी वैज्ञानीकिकरणमा लैजान सक्ने स्थिति पनि छैन । त्यसका लागि छुट्टै कसरत गर्नुपर्छ । अहिलेको अवस्थमा देश भित्र र बाहिर जुन बेरोजगारीको बातावरण बन्यो उनीहरु सबैलाई तत्काल केही गर्ने कि भनेर हामीले बिभिन्न किसिमका योजनाहरु बनाइराखेका छौँ ।

तपाईँले मन्त्रीको शपथ ग्रहण गर्ने बेलामा आफूले म यो काम गर्छु भन्ने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो होला , त्यो लक्ष्यअनुसार कार्यन्वयन गरेजस्तो लाग्छ ?

लागेको छैन, सत्य कुरा के हो भने, कोरोना महामारीको कारणबाट सर्वाधिक असर परेको छ भने त्यो श्रमिकहरुको क्षेत्रमा परेको छ। दैनिक ज्यालादारीमा काम गर्ने मजदुरदेखि लिएर सम्पूर्ण श्रमिकहरुलाई र सम्पूर्ण रोजगारदाताहरुलाई सर्वाधिक असर परेको छ।

त्यसैले हामीले सोचेअनुसार, योजना बनाएअनुसार जुन उत्साहका साथ म मन्त्री हुँदाखेरी कार्यक्रमहरु बनाएको थिएँ। त्यसलाई कार्यान्वयन गर्ने बेलामा मलाइ धेरै गाह्रो परिरहेको छ। किनभने कुनै एक्सन प्लानमा जाँदाखेरी गर्न नै सकिएन। मन्त्रालयको जनशक्ति नै आधाजतिलाई कोरोना संक्रमण भइसक्यो। त्यसैले म तपाईँको कुरामा सहमत छु। मन्त्री हुँदाखेरिको लक्ष्यअनुसार शतप्रतिशत पुग्न सकेका छैनौँ। हामीले बनाएको कार्यक्रमहरुलाई अगाडि बढाउन सकेका छैनौँ।

तर हिममत हारेका छैनौँ, हामीले यो एउटा चुनौतीलाई अवसरको रुपमा लिने वातावरण बनाउँदै छौँ। नेपालको लागि कोरोना एउटा चुनौती हो, लाखौँ मान्छेहरु बाहिरबाट भित्रीए ति पाखुराहरुको सदुपयोग गरेर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अवसर पनि हो। अवसरका रुपपमा कार्यक्रम गर्न सक्यौँ भने हामी निश्चित रुपमा अगाडि बढछौँ।

भिडियाे :

क्यामरामा कमल साउदका साथमा धनकुमार कार्की।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *