उत्तर कोरियामा माछा मार्न र नुन उत्पादन गर्न प्रतिबन्ध, दुई अधिकारीलाई मृत्युदण्ड
काठमाडौं। दक्षिण कोरियाली खुफिया एजेन्सीका अनुसार उत्तरु कोरियाली शासक किम जोंग उनले आफ्नो देशमा कोरोनाभाइरस संक्रमण फैलिन नदिन निकै कडा नियम लागू गराएका छन् । रिपोर्टका अनुसार किम जोंगले समुद्रमा माछा मार्न प्रतिबन्ध लगाएका छन् । उनले कम्तीमा २ जनालाई नियम उल्लंघन गरेको आरोपमा मृत्युदण्डको समेत आदेश दिएको सिबिएसन्यूजमा प्रकाशित समाचारमा जनाइएको छ । समाचारअनुसार राजधानी प्योंगयाङमा लकडाउन लागू गरिएको छ ।
किम सरकारले विदेशी कूटनीतिज्ञसँग अमेरिकालाई उत्तेजित पार्ने किसिमका कुनै पनि गतिविधि नगर्न समेत निर्देशन दिएको छ । रिपोर्टका अनुसार किम अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाप्रतिको सम्भावित नयाँ दृष्टिकोणका विषयमा चिन्तित छन् । दक्षिण कोरियाका सांसदहरुले खुफिया अधिकारीहरुसँगको ब्रिफिङपछि मिडियालाई यो जानकारी दिएका हुन् ।
सांसदहरुमध्ये एक हा के कुनले गुप्तचरको हवाला दिँदै भने ‘किमले अत्याधिक क्रोध प्रदर्शन गरिरहेका छन् र महामारी र यसको आर्थिक प्रभावका विषयमा तर्कहीन उपाय गरिरहेका छन् ।’ रिपोर्टका अनुसार गएको अगष्टमा विदेशबाट आयातीत सामानलाई प्रतिबन्ध गर्ने सरकारी नियम उल्लंघन गरेपछि एक सरकारी अधिकारीलाई मृत्युदण्ड दिइएको थियो । उत्तरु कोरियाले समुद्रको पानीबाट भाइरस सर्न नपाओस् भनेर समुद्रमा माछा मार्न र नुन उत्पादन गर्न पनि प्रतिबन्ध लगाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment