गाउँको नाम अश्लील भएपछि यही आउँदो जनवरी १ देखि नाम परिवर्तन गरिँदै

डिसी नेपाल
१५ मंसिर २०७७ १०:५७

काठमाडौं। कुनै पनि गाउँको नाम अश्लीलता झल्काउने भयो भने त्यहाँका बासिन्दालाई आफ्नो गाउँको नाम बताउनै कठिन हुन्छ । युरोपेली देश अष्ट्रियाका एक गाउँका नागरिकले कैयौं वर्षदेखि यो पीडा सहँदै आएका थिए । तर, अब भने आउँदो जनवरी १ देखि उनीहरुले यो पीडा सहनुपर्ने छैन । अब यो गाउँको नाम परिवर्तन गरिँदैछ । अहिले यो गाउँको नाम (F***ing) हो । अब भने यो गाउँको नाम परिवर्तन हुनेछ ।

जर्मन अखबार डायचे वेलेका अनुसार अब यो गाउँको टाउन काउन्सिलले गाउँको नाम परिवर्तनको प्रक्रिया सुरु गरेको छ । जनवरी १ देखि यो गाउँको नाम फगिंग (Fugging) हुनेछ । यहाँका मेयर आन्द्रिया होल्जनरका अनुसार बाहिरबाट आउने पर्यटकले जब यो गाउँको नामबारे थाहा पाउँथे त्यसपछि यो गाउँको सीमामा राखिएको साइनबोर्डमा गएर फोटो खिचाउँथे । ती तस्वीरलाई सामाजिक संजालमा पोस्ट गर्थे जसका कारण गाउँको बेइज्जती भइरहेको थियो ।

रिपोर्टका अनुसार अष्ट्रियाको इन्भर्टेल क्षेत्रको टार्सडर्फ नगरपालिकाभित्र यो गाउँ पर्छ । यो गाउँ साल्जबर्ग शहरबाट ३३ किलोमिटर टाढा छ । यो जर्मनीको सीमासँग जोडिएको छ । यो गाउँमा पर्यटकको आवतजावत २००५ देखि बढ्न सुरु भएको हो जतिबेला मानिसहरुले यो गाउँको सीमामा रहेको साइनबोर्डसँग तस्वीर खिचेर सामाजिक संजालमा पोस्ट गर्न थालेका थिए । केहीले त साइनबोर्ड नै चोरी गरेका थिए ।

२०२० मा भएको जनगणनाअनुसार यो गाउँमा ३२ घरमा १०६ जना नागरिक छन् । यो गाउँको स्थापना छैटौं शताब्दीमा बवेरियन समुदायका फोको नामका व्यक्तिले गरेको मानिन्छ । सुरुमा यो गाउँको नाम अर्कै थियो तर १८ औं शताब्दीसम्म आइपुग्दा नाम अपभ्रंश भएर यस्तो भएको मानिन्छ । यो गाउँमा कुनै अपराध हुँदैन । पछिल्लो डेढ दशकमा यो गाउँमा रेकर्ड भएको सबैभन्दा ठूलो अपराध यो गाउँको साइनबोर्ड चोरी हुनु थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *