सशस्त्रमा सात डीआईजीका लागि १२ को लबिङ, ठाडामगरलाई ट्रम्पको धक्का

डिसी नेपाल
१७ मंसिर २०७७ ६:५१

काठमाडौं । सशस्त्र प्रहरीमा यही २८ मंसिरदेखि सात जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुने भएपछि प्रतिस्पर्धी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू लबिङमा लागेका छन् । बढुवामा वरीयतामा अगाडि आउन सकेको खण्डमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)को रोलक्रममा समेत परिने हुनाले अहिलेको बढुवालाई विशेष चासोका साथ हेरिएको छ ।

डीआईजी पदमा सात जनालाई बढुवा गरिए पनि आईजीपीको रोलक्रममा भने दुई जना मात्र देखिनेछन् । अन्य भने ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

सशस्त्र प्रहरी बल स्थापना हुँदा २०५८ सालमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाउने भएका हुन् ।

२८ मंसिर २०४७ मा नेपाली सेनामा प्रवेश गरेका उनीहरूको ३० बर्से सेवा अवधि यही २७ मंसिरमा सकिँदै छ । एउटा डीआईजी पद भने लामो समयदेखि रिक्त छ ।

स्रोतका अनुसार रिक्त सात डीआईजी पदका लागि १२ जना एसएसपी प्रतिस्पर्धामा छन् । बढुवाका लागि शक्तिकेन्द्र धाउने खेल सुरुसमेत भइसकेको छ ।

बढुवामा पहिलो नम्बरमा एसएसपी अभिकुमार खत्री छन् । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनी ३ असार २०५६ मा प्रहरी निरीक्षक बनेका थिए । १७ चैत २०७३ मा एसएसपीमा बढुवा भएका उनलाई हालै वरिष्ठताका आधारमा नम्बर ६ बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारीसमेत दिइसकिएको छ । एसएसपी भए पनि निमित्त बाहिनीपतिको जिम्मेवारी पाउने उनी एक जना मात्रै हुन् ।

डीआईजीका लागि वरिष्ठताका आधारमा शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन् । उनीहरू सबै जना खत्रीसँगै १७ चैत २०७३ मा एसएसपीमा बढुवा भएका थिए ।

हालको रोलक्रममा उनीहरूपछि कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक छन् ।

स्रोतका अनुसार, वरिष्ठताका आधारमा अघि रहेका खत्री, सुवेदी, ठाडामगर, भट्टराई, गिरी र नेम्वाङ डीआईजी हुने पक्काकक्की जस्तै छ । नियमावली परिवर्तन नभएको खण्डमा अहिले बढुवा हुने ठाडामगर वा गिरी भावी आईजीपीको रोलक्रममा हुनेछन् ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् । सो समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनको आधारमा गर्छ ।

जसमा कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ अंक, बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ । बढुवा समितिले तयार पारेको सिफारिस गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि मन्त्रिपरिषद्ले पास गर्ने व्यवस्था छ ।

एसएसपी ठाडामगरलाई ट्रम्पको धक्का

काठमाडौं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका प्रमुख एसएसपी ठाडामगरलाई सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।राजधानी दैनिकमा राेशन श्रेष्ठले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *