भिजिट भिसामा कामदार पठाएको भन्दै सुर्खेत ओभरसिज म्यानपावर सिल
काठमाडौं। वैदेशिक रोजगार विभागले सुर्खेत ओभरसिज प्राली सिल गरेको छ। गैरकानुनी प्रकृया अवलम्वन गरी युवाहरुलाई भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाएको पाइएपछि सो म्यानपावर सिल गरिएको विभागले जनाएको छ।
आकर्षक सेवासुविधाको प्रलोभनमा पारी युवालाई भिजिट भिसामा यूएई पठाउन लागेको भन्ने सूचनाका आधारमा शुक्रबार विभागले काठमाडौंका दुई म्यानपावर कम्पनीमा अनुगमन टोली पठाएको थियो। अनुगमन टोली सिनामंगलस्थित सुर्खेत ओभरसिजमा पुग्दा सो कम्पनीले ११ जना युवालाई भिजिट भिसामा यूएई पठाउन लागेको प्रमाण फेला परेपछि सिल गरिएको अनुगमन टाेलीमा खटिएका अधिकृत कुशल बरालले डिसी नेपाललाई जानकारी दिए।
‘११ जना युवालाई भिजिट भिसामा यूएई पठाउन लागेको कागजात अनि इमेल फेला परेपछि सिल गरेका छौँ,’ अनुगमन अधिकृत बरालले भने। सञ्चालकलाई बोलाउँदा उपस्थित नभएको उनको भनाइ छ।
शुक्रबार नै विभागले स्काइ अफ द वर्ल्ड ओभरसिजमा पनि छापा मारेको थियो। उक्त म्यानपावरको पनि गतिविधि शंकास्पद देखिएपछि कागजात जफत गरेर थप अनुसन्धान गरिरहेको विभागले जनाएको छ।
पछिल्लो समय यूएई लगायत विभिन्न मुलुकमा भिजिट भिसामा युवाहरुलाई पठाइ कामदार ठगी गर्ने प्रवृत्ति बढेको छ। विभागले पटकपटक प्रलोभनमा परी भिजिट भिसामा नजान अनुरोध गर्दै आएको छ।
भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधा भनेअनुसार नभएमा उजुरीका लागि कानुनी आधार नहुने भन्दै विभागले अवैध प्रकृयामार्फत वैदेशिक रोजगारीमा नजान सचेत गराउँदै आएको छ। भिजिट भिषामा गएका व्यक्तिहरुलाई काम गर्ने क्रममा कुनै शारीरिक, मानसिक हिंसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुनेपर्ने विभागले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment