परराष्ट्र नीतिः सरकारले देखेका १३ चुनौती र १५ अवसर

खेमराज थापा
२२ मंसिर २०७७ १८:५७

काठमाडौं। नेपालको नयाँ परराष्ट्र नीति सार्वजनिक हुँदा चुनौतीहरुको सूचीमा अन्तर्राष्ट्रि सीमा सुरक्षा महत्वपूर्ण रुपमा लिपिवद्ध गरिएको छ।

नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो। उत्तरमा विश्व महाशक्तिको होडमा रहेको चीन छ भने अन्य तीन दिशमा क्षेत्री शक्ति भारतको सीमा छ। र दुबै देशसँग नेपालको परम्परादेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ।

नेपाल र चीनबीच तथा नेपाल र भारतबीच इतिहासमा कहिल्यै पनि सैन्य युद्ध भएको छैन। र चीन तथा भारत दुबैले आफूलाई विस्तारवादी नभएको बताउँछन्।

यस्तो अवस्थामा नेपालको सीमा सुरक्षालाई सरकारले चुनौतीका रुपमा कसरी बुझेको हो ? यो विषयमा थप अध्ययन गर्नुपर्ने पूर्व परराष्ट्रमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए। उनले डिसी नेपालसँग भने, ‘भारतसँग हाम्रो सीमा विवाद छ। महाकाली र सुस्ता दुई प्वाइन्टमा विवाद छ। म परराष्ट्रमन्त्री हुँदा यी विवाद समाधान गर्ने पहल गरेको थिएँ। तर, सीमा सुरक्षा चुनौती कसरी भयो बुझ्न सकिएन। यदि त्यस्तो हो भने कहाँ कसरी चुनौती भयो भन्नु पर्छ। नेपाल एक बफर स्टेट हो। यस्ता मुलुकमा सीमा सुरक्षा चुनौती हुन सक्दैनन्।’

त्यसो त नेपालले चीनसँग सीमा विवादसमेत नरहेको बताइसकेको छ। तर, दक्षिणी छिमेकी भारतसँग भने सीमा विवाद छ। पछिल्लो पटक त नेपाल र भारत दुबैले जारी गरेका नयाँ नक्साले यो विवादलाई थप बढाएको छ। नक्सा विवादकै कारण नेपाल र भारतबीचको सम्बन्धमा तिक्ततासमेत आएको थियो, जुन अहिले सुधार हुनेक्रममा छ।

उता नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत भने अन्तर्राष्ट्रिय सीमा सुरक्षाको चुनौतीलाई सैन्य रुपमामात्र बुझ्न नहुने बताउँछन्। भारतसँगे खुला सीमा र चीनसँगको दुर्गम भौगोलिक अवस्थाले पनि सीमा सुरक्षालाई चुनौतीका रुपमा लिनुपर्ने उनको धारणा छ।

डा. महतले डिसी नेपालसँग भने, ‘सैन्य विषयलाईमात्र सीमा सुरक्षा बुझ्नु हुँदैन, खुला सीमा पनि चुनौती नै हो। चुनौती देखिसकेपछि सोहीअनुसार रणनीति पनि बनाउनु पर्छ। तर, यो सरकारले घोषणा त धेरै गरेको छ, कार्यान्वयन पक्ष निकै कमजोर छ। त्यसैले घोषणा गरेरमात्र केही हुँदैन। कार्यान्वयन पनि बलियो हुनु पर्यो।’
डा. महत जस्तै यादव पनि कार्यान्वयनको विषयलाई जोड दिन्छन्। उनले पनि नीति बनाउनु नयाँ विषय नभएको भन्दै त्यसलाई कसरी कार्यान्वय गरियो भन्ने हेर्नुपर्ने बताए।

चुनौतीहरु
१ परिवर्तनशील र तरल क्षेत्रीय एवम् विश्व परिवेशमा निरन्तरता र परिवर्तनको मर्मअनुरुप बृहत्तर राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्ने,

२ नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा गर्ने

३ परराष्ट्र सम्बन्ध सञ्चालन सबै पक्षसँग प्रभावकारी समन्वय, सहकार्य रसहयोग लिई एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने

४ राष्ट्रिय नेतृत्व र स्वामित्व कायम राख्दै राष्ट्रिय प्राथमिकता र आवश्यकता क्षेत्रमा राष्ट्र हित सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने,

५ दिगो विकास र आवधिक योजना लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय सहायता सुनिश्चित गर्ने

६ आर्थिक कूटनीतिको प्रभावकारी कार्यन्वयनबाट राष्ट्रिय आवश्यकता अनुरुप नेपालको सामाजिक आर्थिक विकासका लागि वैदेशिक लगानी परिचालन गर्ने

७ क्षेत्रीय एवम् विश्व शक्ति राष्ट्रहरुको सामरिक प्रतिस्पर्धाबाट नेपालको सार्वभौमिकता र राष्ट्रिय हितमा नकरात्मक प्रभाव पर्न नदिने,

८ साना र विकासशील राष्ट्रको हित रक्षाका लागि बहुपक्षीयताको सुदृढीकरण गर्ने,

९ नेपाल जस्ता विशिष्ट परिस्थिति भएका राष्ट्रहरुको साझा चासो र हितका विषयमा अन्तर्राष्ट्रिय समर्थन र सहयोग प्राप्त गर्ने

१० अति कम विकसित राष्ट्रबाट स्तरोन्नति पश्चात प्रतिस्पर्धात्मक क्षमता बढाई व्यापार लगायतका सुविधाको निरन्तरता काम राख्ने,

११ पर्वतीय मुलुककका विशिष्ट एज्ेण्डालाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय नीति निर्माण प्रक्रिया स्थापित गराउने र जलवायु परिवर्तनका नकरात्मक असरको न्यूनीकरण अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत र प्रविधि जुटाउने

१२ विश्वव्यापी महामारी र ठूला प्राकृतिक विपत्तिबाट सिर्जना हुने असहज परिस्थितिमा राष्ट्रिय हित अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने र बाह्य सहयोग जुटाउने

१३ परिवर्तति र प्रतिस्पर्धात्मक विश्व परिवेश परराष्ट्र सम्बन्ध सञ्चालन तथा व्यवस्थापन गर्न विशिष्टीकृत संस्थागत क्षमता, जनशक्ति र व्यावसायिक दक्षता विकास गर्ने।

अवसरहरु

१ मुलुकले हासिल गरेको राजनीतिक स्थायित्व, लोकतन्त्र, दिगो शान्ति र विकासको नयाँ परिवेश राष्ट्रिय हित र परराष्ट्र नीति सम्बन्धमा स्पष्ट संवैधानिक मार्गदर्शन हुनु,

२ आधारभूत राष्ट्रिय हित, आर्थिक समृद्धि, सीमा लगायतका महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति र एकताको वातावरण तयार हुनु,

३ शान्तिप्रिय, लोकतान्त्रिक, समावेशी र सामाजिक न्यायमा आधारित राज्यको रुपमा नेपाल र सहिष्णु, मित्रवत्, इमान्दार, परिश्रमी र उत्थानशील नेपालीप्रति अन्तर्राष्ट्रिय समुदायको सद्भाव र शुभेच्छा रहनु

४ नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता र सम्मान आर्जन हुनु

५ नेपालले सँयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यमा पुर्याएको योगदानका कारण अन्तर्राष्ट्रिय सद्भाव प्राप्त हुनु

६ फराकिलो कूटनीतिक सम्बन्ध र घनिभुत हुँदै गएको अन्तर्राष्ट्रिय सम्पर्क र सहकार्य विद्यमान रहनु

७ नेपाल लोकतन्त्र संस्थागत भई आर्थिक विकास र रुपान्तरणमा केन्द्रित मुलुकको रुपमा विश्व समुदायमा परिचित हुँदै जानु

८छिमेकी मुलुकहरुसँग सुदृढ बन्दै गएको सम्बन्ध र सम्पर्क सञ्जालबाट सिर्जित परिवेशमा उनीहरुले हासिल गरेको तिब्र आर्थिक विकासबाट लाभ लिने सम्भावना हुनु

९ आर्थिक कूटनीतिका लागि नीतिगत र संरचनागत आधार तयार भई पूर्वाधारको विकास, निर्यात व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, पर्यटन र वैदेशिक रोजगारी जस्त प्राथमिकताका क्षेत्रमा कूटनीतिक संयन्त्रलाई थ िसक्रिय बनाउने वातावरण सिर्जना हुनु

१० नेपालको प्राकृतिक सौन्दर्य, वातावरणीय विशिष्टता, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा र धरातलीय विविधताले विश्व ध्यान आकर्षित गर्ने सम्भावना विद्यमान हुनु

११ राष्ट्रिय विकासको स्पष्ट मार्गचित्र तयार हुनु

१२ वैदेशिक लगानी तथा प्रविभि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी तगा लगानी ऐन एवं एकल बिन्दु सेवा कार्यान्वयन जस्ता सारभूत नीतिगत, कानूनी एवम् संरचनागत सुभार र प्रक्रियागत सरलीकरणका कारण देशभित्र लगानी र व्यवसायमैत्री वातावरण सिर्जना हुनु

१३ क्षेत्रीय तथा उपक्षेत्रीय संघसंस्था मार्फत क्षेत्रीय सहयोगबाट अधिकतम लाभ लिन सक्ने वातावरण हुनु

१४ नेपाली डायस्पोराको ज्ञान, सीप, पूँजी र सम्पर्क सञ्जाललाई राष्ट्रिय विकासमा परिचालन गर्न सक्ने अवस्था रहनु

१५ विश्वव्यापी महामारीपछिको परिवर्तित परिस्थितिमा प्रविधि र नवप्रवर्तनबाट लाभ लिई आर्थिक र सामाजिक क्षेत्रमा समयानुकूल समायोजन गर्न सक्ने स्थिति रहनु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *