हत्यारा उम्कन नदेऊ तर, गाउँ आतंकित नपार सरकार

डिसी नेपाल
२४ मंसिर २०७७ ६:४९

काठमाडौं । मोरङको दुर्गम पहाडी गाउन् मिक्लाजङमा स्थानीय विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको निर्ममतापूर्वक हत्या गरेर प्रतिबन्धित नेकपाको विप्लव समूहले व्यक्तिहत्यालाई आतंकका रुपमा अघि बढाउने घोषणा गरेको छ।

दुई हात बाँधेर एकान्त ठाउँमा लगी घाँटी रेटेर हत्या गर्दै सो अपराधको सगर्व जिम्मेवारी लिने काम पनि नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले लिएको छ।

हजारौंको हत्या गरी समाजमा आतंक मच्चाएर शान्तिवार्ता गरी त्यसयता सत्तामा निरन्तर सहभागी भइरहेको पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादीका उच्चस्तरका नेताहरु केन्द्रीय सत्ताका महत्वपूर्ण पदहरुमा आसिन छन् भने स्थानीय सत्तामा समेत उनीहरुको उल्लेख्य सहभागिता छ।

त्यसैले यो कुनै लुकेको विषय छैन कि विप्लव पनि यही गर्न चाहान्छन् र यसका लागि हिजो प्रचण्ड र उनले समेत सहकार्य गरी व्यक्ति हत्या र आतंकलाई प्रचारको मुख्य विषय बनाएर विरोधी स्वरहरु दबाउँदै प्रभाव बढाएको विधिलाई सगर्व अघि बढाउन थालेका छन्।

प्रचण्ड नेतृत्वको व्यक्ति हत्या र आतंकलाई सुराकीको सफाया गरिएको भन्दै जसरी घोषणा गरिन्थ्यो त्यसरी नै विप्लबले पनि सुराकीको आरोप लगाएर निहत्था प्रधानाध्यापक श्रेष्ठको अमानुषिक हत्या गरेर फेरि मुलुकलाई रक्ताम्य बनाउने संकेत दिन खोजेका छन्।

प्रचण्ड नेतृत्वको व्यक्ति हत्या र आतंकलाई सुराकीको सफाया गरिएको भन्दै जसरी घोषणा गरिन्थ्यो त्यसरी नै विप्लबले पनि सुराकीको आरोप लगाएर निहत्था प्रधानाध्यापक श्रेष्ठको अमानुषिक हत्या गरेर फेरि मुलुकलाई रक्ताम्य बनाउने संकेत दिन खोजेका छन्।

प्रचण्ड नेतृत्वको माओवादी विद्रोह शुरु हुँदा तत्कालीन शासकहरु र प्रतिपक्षी नेताहरु खासगरी गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल र राजा ज्ञानेन्द्रहरुले व्यक्ति हत्याजस्ता जधन्य अपराध गर्नेहरुमाथि कानुनी कारवाही गर्नुको साटो घटनास्थल र गाउँमा पूरै आतंक मच्चाउने काम गरेका थिए।

आफन्त र गाउँवासीको हत्याले आक्रान्त र आतंकित भएका सर्वसाधारणहरुमाथि थप पीडा दिएका थिए—कहिले किलो शेरा टु त कहिले के नामका फौजी अपरेशनहरुका माध्यमबाट। हत्याराहरुको आतंकबाट पीडित भएका सर्वसाधारण जनताहरु सरकारी दमनबाट झन् बढी पीडित भएका थिए र जथाभावी धरपकडले गाउँहरु सरकारसंग आतंकित भएका थिए।

र, हत्याराहरु र तिनको उच्च नेतृत्व भने घटना घटाइसकेपछि भागेर छिमेकी मुलुक भारत पस्ने र भरतीय सत्ताकै समर्थनमा सुरक्षित रहने गरेका थिए। यस्तो कार्यले वास्तविक हत्याराहरु जोगिएर अन्यत्र अर्को हत्याको मिसनमा लाग्ने र स्थानीय सर्वसाधारणले दुख पाइरहने अवस्था सिर्जना भएको थियो। जसको परिणाम सुरक्षा फौजमाथि स्थानीयको चर्को अविश्वास विकसित भएको थियो।

गाउँमा व्यक्ति हत्या गरी आतंक मच्चाएर थप आतंकका लागि सरकारलाई उत्तेजित बनाउने पुरानै रणनीतिमा विप्लव लागेको प्रधानाध्यापक श्रेष्ठको हत्याले देखाएको छ। यो हत्याको प्रकृति हेर्दा विप्लव र उनको समूहमा पाशविक हत्याको पुरानो धङधँगी यथावत रहेको पनि देखाएको छ।

त्यसैले मुलुकमा सुरकीका नाममा फेरि हत्या हिंसाका श्रृखंलाहरु शुरु हुने पो हुन् कि भन्ने त्रास देशभर फैलाउन एउटै घटनाबाट विप्लब समूह सफल भएको छ। र, विप्लवको सो सफलता पूर्वविद्रोहीहरु संलग्न नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका लागि ठूलो चुनौती पनि हो।

राजधानी काठमाडौंभन्दा धेरै टाढाको दुर्गम भेगमा भएको यो नृशंस हत्यालाई सरकारले गम्भीरतापूर्वक लिएको देखिएको छैन। त्यसैले सबैले मिलेर हत्यारालाई कानूनी कठघरमा उभ्याउन दवाव दिनु जरुरी देखिएको छ।

तर, हत्यारा खोज्ने नाममा हिजोका दिनमा जस्तो गाउँ नै आतंकित पारी पीडितमाथि पीडा थप्ने र अन्तत सरकार र सुरक्षाफौज नै बद्नाम हुने असफल तरिकाको प्रयोग नहोस् भन्नेतर्फ जति खवरदारी आवश्यक छ। त्यत्ति नै खवरदारी हत्याराहरु प्रोत्साहित नहुन् र राजनीतिक आन्दोलन व्यक्ति हत्याको कुकृत्यबाट अगाडि नबढोस् भन्ने तर्फ पनि आवश्यक छ।

प्रधानाध्यापक श्रेष्ठको हत्या सरकार र शान्तिप्रिय नेपालीजनका लागि भविष्यको सम्भावित दुर्गतिको पूर्वसूचना हो। त्यसैले समयमै व्यक्ति हत्याराहरुको पहिचान होस् र तिनले उचित कानूनी कारवाही भोगून्।

हिंसाको जवाफ प्रतिहिंसा हुन सक्दैन त्यसैले सरकारले आफ्नो क्षमता देखाउँदै हिंस्रकहरुका लुक्ने वासस्थानहरु खोजोस्, तिनका संरक्षकहरु खोजोस् र कानूनको कठघरामा उभ्याई उचित दण्ड सजाय देओस्। नृशंस हत्या गरिएका प्रधानाध्यापक श्रेष्ठप्रति सच्चा श्रद्धाञ्जलि यही हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *