दम्पतीले लट्रीमा १८ अर्ब जिते, आधाभन्दा धेरै गरिबलाई बाँडे, आफूलाई सेकेण्ड ह्याण्ड कार किने
काठमाडौं। लट्रीमा बेलायती इतिहासकै ठूलो रकम ११५ मिलियन पाउण्ड (१८ अर्ब नेपाली रुपैयाँ) जितेका दम्पतीले आधाभन्दा धेरै रकम गरिबहरुलाई बाँडेर सकेका छन् । उनीहरुले करिब ६० मिलियन पाउण्ड गरिबहरुलाई सहयोग गरेर सकेको बताएका छन् । पूर्वशिक्षिका फ्रान्सिस कोनोली र उनका पति पेट्रिकले ६० मिलियन रकम गरिबहरुलाई सहयोग गरेर सकेको बेलायती अखबार द सनसँगको कुराकानीका क्रममा बताए ।
सुरुमा यति ठूलो रकम जितेपछि आफ्ना ५० नजिकका साथी र आफन्तलाई सहयोग गर्ने निर्णय गरेका यी दम्पतीले अहिलेसम्म १७५ परिवारलाई खुसी दिइसकेका छन् । उनीहरुले सहयोग गरेकामध्ये कैयौंले घर किन्न सके भने अन्यले ऋण तिर्न सके । जनवरी २०१९ मा उनीहरुले जितेको रकम त्यो लट्रीमा विगत २५ वर्षयताको चौथो ठूलो रकम थियो । फ्रान्सिसले द सनसँग भनिन् ‘हामीले ११४९६९७७५.७० पाउण्ड जितेका थियौं र त्यसको आधाभन्दा धेरै सहयोग गरेर सक्यौं ।’
यो दम्पतीले यति धेरै रकम सहयोग गरेर सके तर आफ्नो लागि भने सेकेण्ड ह्याण्ड कार किने । उनीहरुका छोरीहरुले पनि सेकेण्ड ह्याण्ड कार नै प्रयोग गर्छन् । फ्रान्सिसका अनुसार उनलाई धेरै खुसी यो कुराले हुन्छ कि उनले जसलाई सहयोग गरेकी थिइन् ती सहयोग पाउनेहरुले पनि फेरि अरु दुःख पाएकाहरुलाई सहयोग गरे । ५४ वर्षकी फ्रान्सिसका अनुसार उनलाई गहना किनेर भन्दा धेरै खुसी अरुको मुहारमा खुसी देखेर भयो । गत वर्ष पेट्रिकले फ्रान्सिसको लागि सेकेण्ड ह्याड जगुआर कार किनिदिएका थिए । यो कारको मूल्य २ हजार पाउण्ड थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment