पर्यटनमन्त्रीद्वारा ३८ योजना छनोट

डिसी नेपाल
२८ मंसिर २०७७ २३:४०
28
Shares

फुङलिङ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सडकलाई प्राथमिकता दिँदै चार करोड बजेटका ३८ योजना छनोट गरेका छन् । जम्मा २८ योजनामध्ये १८ वटा योजना मोटरबाटो छनोट परेको छ । दोस्रो प्राथमिकता खेल मैदानलाई दिएको ३८ योजनामध्ये सात योजना खेलमैदान छनोटमा परेका छन् ।

आठराई त्रिवेणी गाउँपालिकामा नाबुखोला–भलायो, भीर–सिमलधारादेखि पीपलबोटे प्राविसम्मको मोटरबाटोका लागि १२ लाख विनियोजन भएको छ । मैवाखोला गाउँपालिकास्थित मैवाखोला मावि तेम्बेको ट्रससहितको सभाहलका लागि १९ लाख, चारभैया–खड्काटोल हुँदै भदन भण्डारी मार्ग जोड्ने सडकका लागि १० लाख र हातिखावा ढुङ्गेसाँघु खेलमैदान निर्माणका लागि १२ लाख विनियोजन भएको छ ।

मेरिङ्देनको आगु लुङ्जा–तेन्थाप हुँदै थुकीमा जाने मोटरबाटोका लागि ४० लाख, मिक्वाखोलाको दुङ्जा–चैलुङ्गे–सालबोटे हुँदै खानीखोला जाने सडक निर्माणका लागि १० लाख, सगरमाथा आधारभूत विद्यालय खेलमैदानका निर्माणका लागि सात लाख, साँवा जलविद्युत् परियोजनाका लागि पाँच लाख र सिम्बुक जलविद्युत् निर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।

फक्ताङ्लुङको लिङ्खिमस्थित भक्त आधारभूत विद्यालयको घेराबाराका लागि पाँच लाख, साँघु–मादिबुङ जोड्ने मोटरबाटोका लागि २० लाख र मानाभरा कृषि सडक खेजेनिमका लागि १० लाख विनियोजन भएको छ । फुङ्लिङस्थित जिल्ला बाल कल्याण समितिको भवनमा कोरोना सङ्क्रमितका लागि आइसोलेसन कक्ष बनाउन २० लाख, भुटानेचौक हुँदै बुङ्कुलुङ–सत्रमुढेदेखि रामेटार सडक निर्माणका लागि १० लाख, अँधेरी–मेवाराजा–खोदम्बु हुँदै नाङखोल्याङ जोड्ने मोटरबाटो र बालमन्दिर–टीका गुरुङको घर हुँदै नयाँ बसपार्क जाने मोटरबाटो पक्की ढलानका लागि समान रु सात–सात लाखको बजेट विनियोजन भएको छ ।

यस्तै, बालसुबोधिनी माविदेखि केनिम बगैँचा जोड्ने मोटरबाटो निर्माण र दीपज्योति आधारभूत विद्यालय खेलमैदानका लागि पनि समान रु सात–सात लाखको बजेट विनियोजन भएको छ । धुपौरे गणेशको घर–टाकुरे–नासपाते कान्छाको घर–रेडक्रस हुँदै गैरी प्रावि फुरुम्बुका लागि पाँच लाख, शहरी स्वास्थ्य एकाइ केन्द्र फुरुम्बुको भवन निर्माणका लागि सात लाख र फावाखोला खेल मैदान निर्माण तथा हिले सामुदायिक भवन निर्माण सुकेटारका लागि समान रु पाँच–पाँच लाख विनियोजन भएको छ ।

यस्तै, पराजुली चौकदेखि बिहीबारे हुँदै चण्डेश्वर धाम जाने सडक स्तरोन्नतिका लागि रु आठ लाख विनियोजन भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु शहीद स्मृति सामुदायिक सभागृहका लागि १२ लाख, गुप्ते–तिरिङ्गे सडक स्तरोन्नतिका लागि १० लाख, डुम्रिसे–ओरक्पेदेखि पाथीभराधाम जाने मोटरबाटो र तुमाङ्खे–फावाखोला मोटरेवल पुल जोड्ने सडकका लागि समान रु आठ–आठ लाख बजेट विनियोजन भएको छ । सिरिजङ्घास्थित खेवाङ स्पोर्टिङ क्लबको खेलमैदान निर्माणका लागि २० लाख, काबेलीखोला माइक्रो हाइड्रो कुलो निर्माण र मुहान योजना याम्फुदिनका लागि आठ लाख, आम्बेगुदिन (रजा)मावि खेलमैदान निर्माणका लागि १० लाख, जोरपुल–राष्ट्रिय मावि–आँपडाँडा हुँदै खेवाङ मावि जोड्ने मोटरबाटो निर्माणका लागि रु सात लाख विनियोजन भएको छ । सिरिजङ्घा गाउँपालिका–३ सिकैचास्थित लक्ष्मी आधारभूत विद्यालयको पहिरो नियन्त्रणका लागि रु पाँच लाख विनियोजन भएको छ ।

यस्तै, छातेढुङ्गा मावि खेलमैदान निर्माणमा र सिंहदेवी खेलमैदान निर्माणमा समान रु १०–१० लाख विनियोजन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित हप्पुखोला–मेहेले–रिजनडाँडा हुँदै खेवाङ जोड्ने मोटरबाटोका लागि १० लाख, सिद्धेश्वरी मावि सादेवाको खेलमैदान निर्माणका लागि सात लाख, सुन्तलेखोला लघु जलविद्युत् परियोजनालाई केन्द्रीय प्रसारण लाइन मिलान गर्न मेहेलेलाई १५ लाख र खोरिङ्वाघाट–आँगेपा हुँदै सिदिङ्वाधाम जाने मोटरबाटो निर्माणका लागि रु सात लाख विनियोजन भएको छ । प्रशासनिक खर्चबापत जिल्ला समन्वय समितिमा रु पाँच लाख जानेछ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *