नारायणकाजीले अर्काको नाममा सम्पत्ति राखेर ऐय्यासी गरेको बाबुरामको आरोप

डिसी नेपाल
२९ मंसिर २०७७ १०:१२
544
Shares

काठमाडौं। पूर्व राजदूत एवं नेकपा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनपछि विवादमा तानिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि आर्थिक हिनामिनाको आरोप लाग्न थालेको छ।

बिहीबार कोरोना संक्रमणबाट निधन भएका लामा र श्रेष्ठ निकट सुसन कर्मचार्यबीच आर्थिक लेनदेनका विषयमा सार्वजनिक भएपछि श्रेष्ठ विवादमा तानिएका छन्।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफ्नो नाममा देखिने गरी कुनै सम्पत्ति नराख्ने, वैधानिक तलवभत्ता नदिने तर आसेपासेका नाममा रातारात करोडौं सम्पत्ति जम्मा हुने भन्दै श्रेष्ठप्रति कटाक्ष गरेका हुन्।


भट्टराईले आइतबार सामाजिक संजालमा ट्वीटरमा ट्वीट गर्दै श्रेष्ठमाथि प्रहार गरेका छन्। भट्टराईले लेखेका छन्, ‘आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने, वैधानिक तलवभत्ता नदिएर वाहवाही कमाउने, आसेपासेहरुका नाममा रातारात करोडौं/अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरुको विवादमा मध्यस्थता गर्ने, ऐय्यासी जीवन बिताउने, यही त हो क्रोनी क्यापिटालिज्म कणहरु। एक अर्कालाई ढाकछोप गरौं। नेपाली विशेषताको समाजवाद?’

लामाको निधनपछि श्रेष्ठले आर्थिक लेनदेनमा मध्यस्थता गरेको अडियो र भिडियो सार्वजनिक भएको थियो। अहिले नेकपाभित्र श्रेष्ठलाई कारवाही गर्न माग उठिरहेको छ।

तर आइतबार बसेको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठमाथिको आरोपको भ्रममा नपर्न भन्दै श्रेष्ठको बचाउ गरेका थिए।

उता नेकपा केन्द्रीय सदस्य राजेन्द्र गौतमले आफूलाई उच्च नैतिकवान भन्ने श्रेष्ठले तत्काल सबै पदबाट राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै गौतमले नेकपाको प्रवक्ता, सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट समेत श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.