मृत्यु श्ययाबाट भावुक हुँदै कमानसिंहले लेखे, ‘तिमी मेरो काजक्रियामा सामेल नहुनु प्रिय’

डिसी नेपाल
२५ मंसिर २०७७ १४:४६

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कमानसिंह लामाले कोरोनाका कारण संसार छोडे। देशले एउटा असल राजनीतिज्ञ गुमायो। परिवारले सदस्य, छोरा छोरीले बाबा गुमाए। श्रीमतीले श्रीमान गुमाइन्। भाइले दाइ गुमाए।

उनले संसार छोडे, संसारसँगै एउटा सन्देश छोडे। आफूले आफ्नो आमा भन्दापछिको दास्राे माया गर्ने श्रीमतीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘कुनै माध्यमले काम नगरेपछि बडो सरमका साथ यो मिडिया अपनाएँ, माफगर प्रिय!यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु! यो मेरो बिन्ती!’

एउटा श्रीमानले श्रीमतीकालागि कल्पनै नगर्न सक्ने खालको सन्देश छोडे। सामाजिक सञ्जाल फेसबुकमा डिसेम्बर ३ तारिखमा लेखेको स्ट्याटसले चर्चा परिचर्चा पाएको छ। उनले आफू जीवन र मृत्युसँग लडिरहेको अवस्थामा पनि श्रीमतीको साथ नपाएको दुखेसो पोखेका थिए। सबैले विरामी भएर अस्पतालमा भर्ना भएका उनको शिघ्र स्वास्थ्य लाभको कामना गरे।

उनी पीडित थिए, सायद भगवानले उनको दुःख देख्न सकेनन्। उनले सन्देश छोडेको एक हप्ता मै संसार छोडे। आफूले सजाएका सपनाहरु पूरा गर्न नपाएको दुखेसो लामाले सामाजिक सञ्जालमै व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘ तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिँदा मेरा केही सपनाहरु अधुरानै रहने भए!’

लामाले सामाजिक संजालमा राखेको भावुक स्टाटस जस्ताको त्यस्तै

आमा नामनै कति मोहक शब्द “आमा “ मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा“ प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङगलमा फसेको छ। तिमी यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नुपर्छ भन्नछन्। ‘छ्या कति कुरुप सिलावरको देक्ची कूचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु।’

प्रिय, तिमी त उसकाे परिवार रे, आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे! वा रे वा नेताज्यू हातमा हैन मैले शिरमा राखेको थिएँ! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार! जे होस तिम्रा जाल झेल खेती सप्रेको नै छ। सादा जीवन उच्च विचारका होर्डिङबोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ। त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाइ त हाँडी घोप्टे जस्तो लाग्छ।

ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ! सोह्रखुट्टे पार्टीको भित्तामा गाइको गोवरले डलर टाँसेर झिली मिली बनाएछ! हाँडीमा खिचडी बसाएर दुइ बुढाबुढी गीत गाएर नाची बसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ! यही केसले हाँडी घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो।

हाम्रा माहान माहान साधु सन्त नेताका यत्तिको नैतिकता र बिचार पनि मैले देखिन। थुइक्क जाली फटाहा द्रव्य पिशाचहरु।
प्रिय, मेरी प्रिय! हाम्रो प्रेम बर्मुडा ट्यागंलमा फस्यो प्रिय।
१. मेरो DIGNITY स्वाभिमानको ट्रयांगल
२. चल अचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति
३. हाम्रोबीचकाे सामाजिक सम्बन्ध , स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविराेधहरू। यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्रयांगल।

याद गर प्रिय मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पें। तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिइएको छैन। धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ।

बरमुडा ट्रयांगल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन। तर यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो। जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो। हामी बसेको भू-भाग गोण्डावना ल्याण्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो।

त्यसबखत ठूला ठूला भौगोलिक उथल पुथल भइरहन्थे। एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी ध्रुबसँग छुट्टियो। ३ मिटर उत्तर स-याे। पृथ्वीबीचमा उसिनेको अण्डाबीचमा फुटाएजस्ताे फुट्यो। पृथ्वी दुइ भागमा बाँडियो।

उत्तरी गोलार्द्ध पांगिया र दक्षिणी गोलार्द्ध गोण्डावना ल्याण्ड। यही घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयांगल बन्यो। त्यो आजपर्यन्त अभेद्य छ। त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयांगलमा फसेका छौं।

प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरानै रहने भए। राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पुर्याइहाले। के कुरा गर्ने?

तिमी र म दुइ मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने, विश्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने। माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने, गोन्जालोको देश हेर्ने, माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ। त्यो तिमीले भाँडी दियौ।

मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रस्वास्वदन हमी दुइ साथै गर्ने सपना अधुरै रहने भयो। ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने। उलान बटोर र ऐतिहासिक गोवी मरुभूमीमा उँट चढ्ने सपना अधुरै रहने भयो।

मानव विकासक्रमको २૪ लाख बर्षको इतिहासमा सिन्थोपस प्रकृतिकाे जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यान ले गरेका उपलब्धी र आदिबारे अलि शुक्ष्म अध्ययन गरी हाम्रो ठुँसाकाबारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने।

दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधिसँगै पढने इच्छा अधुरै रहने भयो।

हाम्रो सास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो। प्रिय, म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने मृत्यु शैयाबाट भन्थे होला। तर, म भन्दिन। कोभिडसँग पैंठे जोडी खेल्दैछु। सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि। तर म आत्तिन्न।

यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम। आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो?

यो जीवनको जीवन मरणको लडाईँको वेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य? लौ प्रिय गरी खान मनग्य गरी दिएको छु। बाँकी जीवन मोजगर। मैले पूरा गर्म नसकेको अधुरा काम अरुसँगै पूरा गर। आठै आश्चर्य हेर्ने घुम्ने भोक मैले नै जगाइ सकेको छु तिमीलाई सक्षम पनि छौ। लौ बधाई प्रिय,

२८/३० वर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै शुखद नै रह्यो। यो ६/७ महिनाले मलाइ गलायो, किनकी मैले तिम्रो मायामा विस्वास घात पाएँ।

मेरो सेयरको करीब दुइ वर्षको साँवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो, उसले पैसा नदिए सिधै मसँग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने।

प्रिय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने, सम्बन्ध छ भन्नुकाे औचित्यै के रह्यो र प्रिय।

कुनै माध्यमले काम नगरे पछि बडो शरमका साथ यो मिडिया अपनाएँ माफगर प्रिय। यदि म कथं मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु। यो मेरो बिन्ती।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *